नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

सभापति देउवाले केन्द्रीय समितिमा दिनुभयो भावुक मन्तव्य, देश र जनताका लागि समर्पित रहिरहने प्रतिबद्धता व्यक्त

काठमाडौँ, २८ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू सदैव देश र जनताका लागि समर्पित रहदै आएको र अझै पनि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जेन जी आन्दोलनमा विध्वंशकारीहरुको भौतिक आक्रमणमा पर्नुभएका सभापति देउवाले त्यसयता आयोजित पहिलो केन्द्रीय समितिको बैठकमा निकै भावुक अभिव्यक्ति दिनुभयो । यसै बैठकबाट कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकालाई सुम्पिनुभएका पार्टी सभापति देउवाले आफ्नो कार्यकारी सभापतिको रुपमा केन्द्रीय समितिमा दिनुभएको मन्तव्यमा राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गर्नुभयो ।

‘जेनजी’ आन्दोलनका क्रममा साङ्घातिक हमलामा परी घाइते हुनुभएका उहाँ आज पहिलोपटक सार्वजनिक रुपमा देखिनुभएको हो । उक्त आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उहाँले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पु¥याउन कांग्रेस सफल भएको बताउनुभयो ।

“अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु” , सभापति देउवाले भन्नुभयो, “त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नुपर्दछ ।”

मुलुकको यो विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको उल्लेख गर्दै उहाँले यसले पक्कै पनि सबैलाई स्तव्ध बनाएको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दैै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो र घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो । प्रस्तुत छ, उहाँको मन्तव्यको पूर्णपाठ:

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्य साथीहरु,
म यो बैठकमा सबै साथीहरुलाई हार्दिक स्वागत गर्दछु।

मुलूकको यो विषम अवस्थामा आज हामी तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको हाम्रो केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा वैठक बसिरहेका छौ।

यसले पक्कै पनि हामी सवैलाई स्तव्ध बनाएको छ। म सबैभन्दा पहिले भाद्र २३ र २४ गतेको घटनामा परि ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु। दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घटनामा 3fOt] हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

१) गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नवयुवकहरुको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।
भाद्र २४ गते विहानैदेखि राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरु, प्रहरी कार्यालयहरु, स्थानीय पालिका भवनहरु, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरु र राजनैतिक दलका विभिन्न कार्यालयहरु, नेताहरुको नीजि घर डेरा, संचार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो। यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवत यो नेपालको ईतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपिबद्द हुनेछ।

हाम्रो पार्टीको केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेता साथीहरुको नीजि घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ। नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोईराला निवास, काठमाण्डौ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी वनाइएको घटनाले झन मर्माहत भएको छु। त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ। यी दुवै दिनका घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।

भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेल्नु भएकोमा म राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलज्यूलाई यस बैठक मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु। त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको छ।

२) जेनजीले देशमा सुशासन र भ्रस्टाचार मुक्त वातावरण सुनिस्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिस्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्वोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ। उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्वोधन गर्नै पर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ।

तर यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि बाहिर आईरहेका तथ्यहरुले पुष्ठि गर्न थालेका छन्। यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ। यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ। देशमा सबै महत्वपूर्ण अंगहरुको मनोवल गिरेको अवस्था छ। यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नु पर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नु पर्दछ।

साथीहरु,
३)विगत ८० वर्षमा नेपाली कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबै भन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको छ।

देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गरेन। जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढंगले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने नेपाली कांग्रेसको विशेषताले नै हाम्रो पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरी रह्यो।

लोकतन्त्र प्राप्तिको संघर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन हुन् नेपाली कांग्रेसले ठिक राष्ट्रिय एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्‍याएको छ।

अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहदा देश भित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु। त्यसैले पनि हामीले समसामयीक राजनीतिको सहि विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ। यस बैठकबाट हामीले नेपाली कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नु पर्दछ। विद्यमान अवस्थामा मुख्य रुपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नु पर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नु पर्ने छ।

साथीहरु,
४) नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो। देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बिचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकतावद्ध हुनु पर्दछ। अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुची–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण हुन्। म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु – विषयवस्तुमा व्यापक छलफल गरौं, एकमतका साथ निर्णयमा पुगौं र ठोस ढंगले निर्णयको कार्यान्वयन गरौं।

साथीहरु,
५) पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्। म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने “घरमा सधैं एकै जना मुली रहँदैन” पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ – मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन।

६) देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक छ। संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ। जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ।

सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ। तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेण्टी छैन । सुरक्षा निकाय मनोवल गिरेर निरिह भएका छन्। तसर्थ निर्बाचनका लागि शान्ति सुरक्ष्याको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फुर्त निर्बाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो । यस तर्फ सरकारको ध्यान जाओस । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो बिश्वास छ ।

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजना बारे छलफल गर्न आवश्यक छ।मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको ईतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढौं।

साथीहरु,
७) तपाईहरुलाई थाहानै छ म किशोर अवस्थादेखि नै देशको राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि जीवन पर्यन्त संघर्ष गरेको व्यत्ति हूँ । म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन।धेरै खालका दुख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ। सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन। मन, वचन र कर्ममा एकै उद्देश्य थियो – राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।

मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरुको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ। मैले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको छु। देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु, अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु। मैले सदैव साथीहरुबाट अपार माया, स्नेह र समर्थन प्राप्त गरेको छु। साथीहरुका प्रति मेरो पनि त्यत्तिकै प्रेमभाव र समर्थन छ।

मैले नेपाली कांग्रेसलाई सधै सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयाश गरे। चाहे पार्टी भित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियाननै चलाए। म यस काममा गर्व पनि गर्न चाहन्छु।

मैले छोटो छोटो समयका लागि भएपनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए। पाँच पटक प्रधानमन्त्री हुँदा करिव एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिए। तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईहरुलाई अवगत नै छ।

सामाजिक कुरितिको रुपमा रहेको कमैया मुक्ति, छूवाछुत मुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महशुस हुन्छ। नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ। नेपालमा भूमि माथिको द्वैध स्वामित्वको अन्त्य गरेर बैज्ञानिक भूमिसुधार लागु गरेको हुँ। यसकै जगमा अहिले हदवन्दी लागु हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो।

सम्पत्तीमा महिलाहरुको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११औं संशोधन गरेर पैतृक सम्पत्ती माथि महिला र पुरुषको हक स्थापित गरेको हुँ। दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको हुँ।


मुलुकको आर्थिक रुपान्तरणमा डिपार्चरको रुपमा रहेको मुल्य अभिवृद्दि कर लागु गरेर कर प्रणालीलाई बैज्ञानिक र आधुनिक बनाउने काम पनि मेरै प्रधानमन्त्रीत्व कालमा सुरु भएको हो । प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा केही कमि कमजोरी पनि भए होला तर मैले सकभर नेपाली जनतालाई र पार्टीलाइ केन्द्रमा राखेर नै काम गरे। केन्द्रीय कार्यसमितिका निर्णयहरु सबै सर्वसम्मत भएका छन्। सरकारमा हुदा भएका पदिय जिम्मेवारी पनि सरसल्लाहमै भएका छन्। सकभर सबै साथिहरुलाई पार्टीको निर्णय प्रक्रियामा सहभागि गराएको छु।

८) गत भाद्र २४ गते सिंगो मुलूक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौको अथक प्रयाश पछि हामीलाई उद्दार गरिएको थियो। म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाइहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो ।

तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो वैठकमा आएर बैठक संचालन गर्न पाएको छु। मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिंदा यस किसिमका अवस्था जुनसुकै वेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ।

यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।

म यो बैठकबाट आक्रमणकारीहरुको कव्जावाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सवैलाई हृदयदेखि धन्यबाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु।


हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने नै छ भन्ने मेरो बिस्वास छ। नेपाली काँग्रेसले आफुलाई एकताबद्ध बनाएर देश सामु उपस्थित चुनौतिको सामना गर्नु छ ।

रास्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धती गम्भीर संकटमा परेको यस घडीमा पार्टी भित्र एकता कायम राख्नुपरेको छ । यसलाई ध्यानमा राखी हाम्रो पार्टीको बिधान अनुसार तोकिएको समयमा १५ औं महाधिबेशन सम्पन्न गर्ने बिषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवस्यक निर्णय लिनेछ । देशमा बिधमान राजनीतिक परिस्थितिको मुल्यांकन गरी निकासमा लागि आवस्यकता अनुसार अन्य राजनैतिक दलहरु संग पनि वार्ता सम्बाद गर्नुछ ।

मेरो स्वास्थयका कारणले म पार्टीका उपसभापति श्री पूर्ण बहादुर खड्का लाई कार्यबाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । वहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो बिश्वास छ ।

जय नेपाल !

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top