

नेपालको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेसको मूल ध्येय हो । बी.पी. कोइरालाको विचार, कैयन सहिदको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा त्यही ध्येयमा केन्द्रित र लक्षित रहेको छ । नेपाली कांग्रेसको पहिचान भनेको आम नागरिकका स्वाधीन मत र दृष्टिकोणलाई स्वीकार गर्नु हो । यसको लागि नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ़ अडान र निरन्तर अभियानमा सदैव अविचलित रहनेछ ।
बी.पी. संगै सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले विभिन्न कालखण्डमा यो पार्टीको र समग्र देशको नेतृत्व गर्नु भयो । नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेको राजनीतिक, सामाजिक र आर्थिक उपलब्धिको जगमा हामीले नेपालको समुन्नति प्राप्तिको यात्रालाई अघि बढाउनु छ । यो यात्रामा विदेशमा रहनुभएका नेपाली कांग्रेसका क्रियाशील सदस्य, जनसम्पर्क सदस्य तथा शुभचिन्तकहरूको भूमिका अहम् रहनेछ भन्ने विश्वास लिएको छु ।