नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली कांग्रेस परिचय

नेपाली काङ्ग्रेस नेपालको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक तथा समाजवादी राजनीतिक पार्टी हो। नेपाली काङ्ग्रेसको स्थापना २००६ साल चैत २७ गते नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसको एकीकरणपश्चात् भएको थियो । हाल यस पार्टीको सभापति शेरबहादुर देउवा हुनुहुन्छ । नेपालमा रहेका राजनीतिक दलहरूमा सदस्यताको हिसाबले नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हो । नेपाली काङ्ग्रेसका लगभग ९ लाख क्रियाशील सदस्य रहेका छन ।

भारतीय स्वतन्त्रता सङ्ग्रामका योद्धा समेत रहनुभएका विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ मा बनारसमा बस्ने नेपालीहरूलाई सङ्गठित गरी अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भएको थियो। सोही बर्ष फागुन २१ देखि मजदूरहरुका हकहितका माग राख्दै विराटनगर जुटमिलमा मजदूर आन्दोलन सुरु भएको थियो । काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको नेपालको पहिलो मजदूर आन्दोलनमा फागुन २६ गते वीपी कोइराला आफ्ना समर्थकहरुसहित सामेल हुनुभएको थियो । अधिनायकवादी ,निरंकुश राणा शासन हटाउनका लागि देशभित्र र बाहिर संगठित प्रयासहरु सुरु भएकै बेला सुवर्णशमशेरको पहलमा वि.सं. २००५ साउन १ मा नेपाल प्रजातन्त्र काङ्ग्रेसको स्थापना भएको थियो । दुवै पार्टीको लक्ष्य निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गर्ने थियो । एउटै पार्टी बनाएर आन्दोलन गर्दा राणा शासनलाई चाँडो समाप्त गर्न सकिन्छ भन्ने कुरामा वीपी र सुवर्ण सहमत भएपछि आवश्यक प्रक्रिया पुर्याएर पार्टी एकीकरणको ऐतिहासिक निर्णय भएको थियो । २००३ सालदेखि नेपाली राष्ट्रिय काङ्ग्रेसको रूपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकौँ चरण पार गरिसकेको छ । राणाशासनदेखि राजतन्त्र अन्त्यसम्मको नेतृत्व गरेको नेपाली काङ्ग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको पर्याय जस्तै छ । करिब ८० वर्ष लामो सङ्घर्षको इतिहास बोकेको काङ्ग्रेसलाई अलग राख्ने हो भने नेपालको राजनीतिक र सामाजिक परिवर्तनको अध्ययन र बुझाइ अपुरो हुन्छ ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका युगान्तकारी परिवर्तनहरू देहाय बमोजिम रहेका छन्ः

▪ वि. सं. २००७ मा राणा शासन समाप्त पार्ने नेपाली काङ्ग्रेस र त्यसका नायक वीपी कोइराला, (क्रान्तिको अधिनायकत्व गर्ने मातृकाप्रसाद कोइराला भए पनि क्रान्तिको मुख्य नायक वीपी कोइराला नै हुनुहुन्थ्यो)

▪ वि. सं. २०१५ मा निर्वाचन गराउने नेपाली काङ्ग्रेस र त्यसका नायक सुवर्णशमशेर,

▪ वि. सं. २०१५ मा बहुमतको सरकारको नेतृत्व गर्ने प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला,

▪ वि. सं. २०४६ मा निर्दलीय पञ्चायती सत्ता ढाल्ने नेपाली काङ्ग्रेस र त्यसका नायक गणेशमान सिंह,

▪ वि. सं. २०४७ मा संविधान निर्माण गरी २०४८ मा निर्वाचन गराउने नेपाली काङ्ग्रेस र त्यसका नायक कृष्णप्रसाद भट्टराई,

▪ वि. सं. २०६३ को जनआन्दोलन, राजसंस्थाको विस्थापन तथा माओवादी हिंसाको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान जारी गरी पहिलो संविधान सभाको निर्वाचन गर्ने नेपाली काङ्ग्रेस र त्यसका नायक गिरिजाप्रसाद कोइराला,

▪ वि. सं.२०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने नेपाली काङ्ग्रेस र त्यसका नायक सुशील कोइराला,

▪ वि. सं. २०७४ मा संविधान कार्यान्वयन गरी तीनै तहको निर्वाचन गराउने नेपाली काङ्ग्रेस र त्यसका नायक शेरबहादुर देउवा ।

काङ्ग्रेसले सम्पन्न गरेका १४ वटा महाधिवेशन

पहिलो महाधिवेशन : २००३ माघ १२ र १३ गते
नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसको एकीकरणबाट २००६ साल चैत २७ गते स्थापना भएको नेपाली काङ्ग्रेसले भारतको कलकत्ता, भवानीपुरस्थित खालसा हाइस्कुलमा बोलाइएको सम्मेलनलाई पहिलो महाधिवेशन मान्दै आएको छ । उक्त महाधिवेशनले तत्कालीन अवस्थामा जेलजीवन बिताएका टङ्कप्रसाद आचार्यलाई मानार्थ सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यकारी सभापतिमा निर्वाचित गरेको थियो ।

दोस्रो महाधिवेशन : २००४ माघ २० देखि २२ गतेसम्म
भारतको बनारसमा सम्पन्न महाधिवेशनबाट वीपी कोइराला सभापतिमा निर्वाचित हुनुभयो । उहाँ हिरासतमा भएकाले रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापति बनाइएको थियो । सो महाधिवेशनले नेपालको वैधानिक कानुन २००४ ले जनताको हक, अधिकारको संरक्षण गर्न नसक्ने तथा नजरबन्दमा रहेका नेता कार्यकर्ताको रिहाइ नगरेकाले नेपाली राष्ट्रिय काङ्ग्रेसले यो विधानलाई अस्वीकार गरी आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको थियो ।

तेस्रो महाधिवेशन : वि.सं.२००५ फागुन १८ गते
भारतको बिहार राज्यको दरभङ्गामा सम्पन्न महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बन्नुभयो । त्यति बेला पनि विश्वेश्वरप्रसाद कोइराला हिरासतमै हुनुहुन्थ्यो । यसैबिच यता राष्ट्रिय काङ्ग्रेसको विभाजन भयो, उता सुवर्ण शमशेर र महावीर शमशेरको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र काङ्ग्रेस गठन भयो।

चौंँथो महाधिवेशन : २००६ साल चैत १७ गते
नेपाली राष्ट्रिय काङ्ग्रेस र २००४ साल साउन १ मा स्थापना भएको नेपाल प्रजातन्त्र काङ्ग्रेसबिच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै नेपाली काङ्ग्रेसको स्थापना भयो । एकीकरणसँगै कलकत्ताको टाइगर हलमा पार्टीको चौँथो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो । काङ्ग्रेसले पहिलो युगान्तकारी घोषणापत्र जारी गर्‍यो ।

पाचौँ महाधिवेशन : २००९ जेठ १० देखि १३ गतेसम्म
क्रान्तिको उपलब्धिको रक्षार्थ जनचेतनाको अभियानकै क्रममा जेठ १० देखि १३ सम्म जनकपुरमा नेपाली काङ्ग्रेसको महाधिवेशन सम्पन्न भएको थियो । यो महाधिवेशनबाट विश्वेश्वरप्रसार कोइराला सभापति चयन हुनुभयो। सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौँको विशालनगरमा सम्पन्न वि.सं. २००९ साउन ८–२३ को पार्टीको विशेष महासमितिको बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महावीर शमशेर लगायतका नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो ।

छैटौँ महाधिवेशन : २०१२ साल माघ
वीरगन्जमा सम्पन्न छैटौँ महाधिवेशनबाट सुवर्णशमशेर राणा पार्टी सभापतिमा निर्वाचित हुनुभयो । उक्त महाधिवेशनमा वीपीद्वारा प्रस्तुत समाजवादी घोषणापत्र स्वीकृत भएपछि सभापतिको हैसियतले सुवर्णशमशेरले ूसमाजवादी व्यवस्था मात्र नेपालको बाटो हुन सक्दछ भनी आफ्नो लक्ष्य बनाएका छौं र समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न सङ्कल्प गरेका छौँ । ू भन्नु भएको थियो । यो महाधिवेशनले पार्टीको मूल सिद्धान्त समाजवादी हुने घोषणा गरेको थियो । पार्टीले समाजवादी नीति अंगीकार गरेको तर आफ्नो स्वामित्वमा हजारौं विगाहा जमिन रहेकोले सभापति सुवर्णशमशेरले बारा पर्सामा रहेको १२ हजार विगाहा जमिन सरकारलाई फिर्ता दिनुभएको थियो ।

२०१४ सालमा विशेष महाधिवेशन
आन्तरिक विवादका कारण २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भयो । यो विशेष महाधिवेशनले वीपी कोइरालालाई सभापतिमा र सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा चयन गरेको थियो ।

सातौँ महाधिवेशनः २०१६ वैशाख २५ देखि ३१ गतेसम्म
काठमाडौँमा सम्पन्न यस महाधिवेशनले वीपी कोइरालालाई पुनः पार्टी सभापति निर्वाचित गरेको थियो । तर २०१७ साल पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला र मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई लगायत सांसदहरु र पार्टीका उपल्लो तहका नेताहरु गिरफ्तार हुनुभयो । तत्कालीन राजा महेन्द्रद्धारा आफ्नो महत्त्वाकाङ्क्षामा राजनीतिक पार्टीहरू बाधक भएको निष्कर्षसहित २०१७ साल पुस २२ गते सबै पार्टीमाथि प्रतिबन्ध लगाए । २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेर दलमाथि प्रतिबन्ध लगाएको समयमा वीपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा भएको समयमा नेपाली काङ्ग्रेसका नेता सुवर्ण शमशेरको आह्वानमा वि.सं. २०१७ माघ १२ देखि १३ सम्म भारतको पटनामा विशेष सम्मेलन गरी सुवर्णशमशेरलाई कार्यकारणी सभापति र आन्दोलनको कमान्डर चयन गरियो । सुवर्णशमशेरको नेतृत्वमा सशस्त्र आन्दोलनको आन्दोलनको घोषणा भयो। त्यस क्रममा २०१८ सालमा भरतपुर कब्जा पनि भएको थियो । सरकारी सेनाले क्रान्तिकारीहरुको हत्या गरेर आन्दोलन निस्तेज पार्नुका साथै भारत र चीनबीच टकराव उत्पन्न भएर बाह्य दबाब आएपछि नेपाली कांग्रेसले सशस्त्र आन्दोलन त्याग्नु परेको थियो । पछि २०२९ भदौमा वीपी कोइरालाको नेतृत्वमा पुनः सशस्त्र आन्दोलनको घोषणा भयो । २०३० सालमा क्रान्तिको खर्च जुटाउन विमान अपहरण गरियो । देशभित्र क्रान्तिकारीहरुमाथि गरिएको निर्मम दमन र २०३२ मंसिर १ गते भारतमा आपत्काल (इमरजेन्सी) लगाइएकोले राष्ट्रियतामा नै आँच आउनसक्ने अवस्थाको मूल्यांंकन गर्दै कांग्रेसद्धारा सशस्त्र आन्दोलनको परित्यागको घोषणा भयो । सभापति वीपी कोइराला २०३२ फागुन १ गते नेता कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान गरी २०३३ पौष १६ गते ं राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता हुनभयो । त्यसपछि शान्तिपूर्ण आन्दोलनकै दबाबमा २०३६ सालमा जनमत सङ्ग्रह भएको थियो ।

आठौँ महाधिवेशनः २०४४ साल माघ ३ गते
सातौं महाधिवेशन भएको करिब ३१ वर्षपछि  २०४८ सालको फागुनमा झापाको कलबलगुडीमा नेपाली कांग्रेसको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । यो महाधिवेशनले कार्यवाहक सभापतिको जिम्मेवारीमा रहनुभएका कृष्णप्रसाद भट्टराईलाई सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित गराएको थियो ।

नवौँ, १० औँ र ११ औँ महाधिवेशन
२०५३ सालमा काठमाडौँमा सम्पन्न महाधिवेशनमार्फ़त् गिरिजाप्रसाद कोइरालाले काङ्ग्रेस सभापतिको नेतृत्व पाउनुभयो । २०५७ मा पोखरामा सम्पन्न १० औँ महाधिवेशन र २०६२ मा ललितपुरमा सम्पन्न ११ औँ महाधिवेशनमा समेत कोइराला नै पार्टी सभापति बन्नुभयो ।

१२ औँ महाधिवेशनः २०६७ असोज १ देखि ५ गतेसम्म
नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा २०६७, असोज १ देखि ५ गतेसम्म आयोजना भएको थियो । यो महाधिवेशनमा प्रतिस्पर्धी शेरबहादुर देउवालाई पराजित गरेर सुशील कोइराला सभापति बन्नुभयो ।

१३ औँ महाधिवेशनः २०७२ फागुन २० देखि २३ सम्म
नेपाली काङ्ग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पन्न भएको थियो । यस महाधिवेशनमा प्रतिस्पर्धी रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभयो ।

१४ औँ महाधिवेशनः  मङ्सिर २४ ,२०७८
२०७८ मङ्सिर २४ गते काठमाडौंमा उद्घाटन भएको नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा दोस्रो पटक शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभयो ।

Share this to your Socials.

Facebook
X
LinkedIn
    Scroll to Top