काठमाडौं, २६ भाद्र । बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनका मागको समाधान २०७२ सालको संविधानको जगमा टेकेर खोज्न अपिल गरेको छ ।
आन्दोलनका तर्फबाट आज जारी गरिएको अपीलमा राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको उल्लेख गरिएको छ ।
‘अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन,’ आन्दोलनले भनेको छ,’यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन् ।’
आन्दोलनले देश र जनताका विरुद्ध हुनसक्ने प्रतिक्रान्तिलाई परास्त गर्ने सबैभन्दा बलियो किल्ला २०७२ सालको संविधान हो भन्दै त्यसैका माध्यमबाट जेनजी आन्दोलनको सफलताको बाटो पहिल्याउन अपिल गरेको छ।
आन्दोलनले काठमाडौंका मेयर बालेन शाहलाई संविधानभन्दा बाहिरका क्रियाकलापमा सहकार्य गरिरहेको भए आफ्नो कित्ता स्पष्ट पार्न भनेको छ।
‘जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ’ आन्दोलनद्वारा जारी विज्ञप्तिमा छ,’नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनुपर्छ। यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारुन् ।’
यस्तो छ विज्ञप्ति
बृहत नागरिक आन्दोलन प्रतिक्रान्तिलाई परास्त गरौं !
अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ। यो हामीलाई पटक्कै स्वीकार्य छैन। जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो। यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौति हो।
जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ। नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनुपर्छ।
यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारून्।
जेनजी का भाइबहिनीहरू जो यो प्रतिक्रान्तिविरुद्ध हुनुहुन्छ र बृहत् नागरिक तप्काबाट सहयोग मागिरहनुभएको छ, उहाँहरूको साथ दिन यो देशका समग्र नागरिक, विभिन्न किसिमले संगठित राजनैतिक, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्छ। प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिंदैछ र उहाँहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौं।
यस सङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो। त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो। अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन।
यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्।
अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुछ। यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पमि नागरिक समाज तयार छ।
जेनजी क्रान्तिलाई सफल बनाऔं। प्रतिक्रान्तिलाई परास्त गरौं। शहीदको बलिदानलाई सार्थक बनाऔं।
मिति स् २०८२ भदौ २६




