लण्डन(संयुक्त अधिराज्य), २५ भाद्र । नेपाली जनसम्पर्क समिति युके(संयुक्त अधिराज्य)ले जेनजी पुस्तालाई अगाडि सारेर प्रतिगामी तत्वहरुले देशभर गरेको आगजनी, सार्वजनिक र निजी सम्पत्तिको तोडफोड तथा लोकतन्त्रका लागि जीवनभर संघर्ष गर्नुभएका पार्टी नेताहरुमाथि गरेको भौतिक आक्रमणको निन्दा गरेको छ ।
नेपाली जनसम्पर्क समिति युकेका सभापति युवाराज गुरुड.ले एक विज्ञप्ति बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै जेनजी पुस्ताको नाममा विगत दुई दिनदेखि यता नेपालमा भैरहेको अराजक घटनाप्रति समिति अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो विज्ञप्तिमा भन्नुभएको छ, “हिंसा हाम्रा लागि पूर्ण रुपमा अस्वीकार्य छ। हिंसा समस्याको समाधान होइन।”
विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “सोमवार भएको घटनामा निर्दोष युवाहरुको मृत्युपछिको आक्रोशले जुन हिंसाको रुप लियो र हाम्रो पार्टीका श्रद्धेय सभापति शेरबहादुर देउबाज्यू र नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री माननीय डा अरजु राणा देउवा ज्यूलाई ज्यान लिने उदेश्य सहित भएको क्रूर तथा अमानवीय सांघातिक हमलाको घोर भर्त्सना गर्दछु । साथै अन्य नेपाली कांग्रेसका नेतागणमाथि व्यक्तिगत रुपमा भौतिक आक्रमण गर्ने, निजी एवं सरकारी सम्पति तोडफोड गर्ने, ऐतिहासिक एवं सार्वजनिक राष्ट्रिय सम्पदामा आगजनी गर्नेजस्तो अराजक र अक्षम्य गतिविधि भएको छ, त्यसको हामी कडा निन्दा गर्दछौं।”
उहाँले नेपाली कांग्रेस सदैव लोकतन्त्र, लोकतान्त्रिक विधि,कानुनी शासन र वैयक्तिक सम्पतिको सुरक्षाको प्रत्याभूतिका पक्षमा रहेको उल्लेख गर्दै नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि जनताको अधिकारको पक्षमा लडेको र मुलुकमा भएका हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको बताउनुभएको छ ।
नेपाली जनसम्पर्क समिति युकेका सभापति गुरुड.ले भन्नुभएको छ, “लोकतान्त्रिक संरचनामाथि नै प्रहार गर्ने, आजीवन व्यक्तिको अधिकार र लोकतन्त्रको पक्षमा निरन्तर लडिरहनु भएका हाम्रो पार्टीका सभापतिमाथि नै निजी निवासमा प्रवेश गरी भौतिक आक्रमण गर्ने र निजी सम्पतिमाथि आगजनी गर्ने जुन हर्कत भएको छ, त्यसको जतिसुकै भर्त्सना गरे पनि कम नै हुन्छ। हामी यस किसिमको सबैखाले घटनाको निन्दा गर्दछौं,जुन स्वीकार्य छैन।”
उहाँले आफ्नो विज्ञप्तिमा जुनसुकै वाद र नेतृत्वमा हुने यस किसिमको अराजक र भौतिक आक्रमण अस्वीकार्य भएको बताउदै हामी नेपाली कांग्रेसका आम सदस्यहरुलाई यो परिस्थितिमा संयमता अपनाउनु हुन र कत्ति पनि विचलित नहुन अनुरोध गर्नुभएको छ । उहाँले यस्तो अराजक हर्कत गर्नेहरु जोसुकै भए पनि कानुनी दायरामा ल्याएर दण्डित गर्न पनि माग गर्नुभएको छ ।
उहाँले कठिनाई र प्रतिकूल परिस्थितिमा सबैलाई धैर्यता, संयमता अपनाई आपसी सद्भाव र हार्दिक एकताका लागि अपील गर्नुभएको छ ।
हाम्रो देशले अब यो भन्दा बढी क्षति धान्न नसक्ने उल्लेख गर्दै उहाँले हिंसा भड्कने थप गतिवधि नगरिदिनु हुन हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ।
नेपाली कांग्रेसका सभापति,महामन्त्री, परराष्ट्रमंत्रीलगायतका नेतागणमाथि भौतिक आक्रमण र नेताहरुको निजी सम्पतिमा आगजनी गर्ने हर्कतले जेनजीको नाममा भएको आन्दोलनमा नियोजित घुसपैठ भएको आशंका पनि गर्नुभएको छ ।
नेपाली जनसम्पर्क समिति युकेले नेपाली-नेपाली बीचको सद्भाव कायम गरी शान्ति र सुव्यवस्था बहाली गर्न र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दलका शुभेच्छुकहरु र लोकतन्त्र पक्षधर आम नेपालीजनसंग अपिल गरेको छ ।
जनसम्प्र्क समिति युकेले कुनै पनि किसिमको अधिनायकवाद र निरंकुशताको विरोध गर्दै संयुक्त राष्ट्र संघ लगायत नेपालका हितैषी अन्तरराष्ट्रिय समुदायसमक्ष पनि नेपालमा शान्ति बहाल गरी संवैधानिक प्रकृया सुचारु गरी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई निर्वाध सञ्चालन हुने अवस्था सिर्जनामा सहयोग र समर्थन गरिदिन अनुरोध गरेको छ ।





