
नेपाली कांग्रेसले प्रवासमा रहेका नेपालीलाई संगठित गरी नेपाली जनसम्पर्क समिति मार्फत गतिविधिहरु सञ्चालन गर्दै आएको छ । सन् १९७६ जुन १३ मा भारतको मुम्बईमा स्थापना भई कार्यारम्भ गरेको जनसम्पर्क समिति हालसम्म विश्वका ३६ देशमा विस्तार भइसकेको छ । प्रवासमा रहेका लोकतन्त्रका पक्षधर नेपालीलाई संगठित गरी निर्दलीय पञ्चायती निरंकुश शासनलाई समाप्त पारी नेपालमा लोकतान्त्रिक व्यवस्था स्थापना गर्नु जनसम्पर्क समितिको तत्कालीन उद्देश्य थियो । जनसम्पर्क समितिको यो यात्रा २०४६ सालको जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय लोकतान्त्रिक व्यवस्था पुनर्स्थापना गर्न सफल भएसँगै थप उचाईमा पुगेको छ । लोकतन्त्रको पुनःस्थापना लगत्तै देश–विदेशमा सहजै आवतजावत गर्ने स्थिति बनेपछि रोजगारीको साथसाथै अध्ययन र ब्यापार व्यवसायका लागि विदेश जाने क्रम बढ़ेको छ । प्रवासमा रहेर लोकतान्त्रिक अभियानमा जोडिएका नेपालीलाई नेपाल र नेपाली कांग्रेस पार्टीमा आबद्ध गर्दै उनीहरुका समस्या र चुनौती समाधानमा साथ दिने उद्देश्यका साथ नेपाली कांग्रेस पार्टीमा जनसम्पर्क समिति समन्वय विभागको गठन भएको हो । विश्वभर छरिएर रहेका नेपाली कांग्रेसप्रति आस्थावान नेपालीलाई संगठित गर्दै नेपाली कांग्रेस पार्टीबाट मान्यता प्राप्त सबै नेपाली जनसम्पर्क समितिका हजारौ सक्रिय सदस्यलाई परिचालन गर्नु, संस्थागत सम्पर्क र समन्वय गरी नेपाली कांग्रेसको संगठन सुदृढ गराउनु विभागको अहम् दायित्व हो ।