वीरेन्द्रनगर(सुर्खेत), ९ असोज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनमा भएको घुसपैठपछि देश योजनाबद्ध षड्यन्त्रको चपेटामा परेको बताउनुभएको छ ।
बिहीबार गृहजिल्ला सुर्खेत आउनुभएका उपसभापति खड्काले आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति, संवैधानिक संस्था र नेताहरूमाथि भएको आक्रमणको कडा भर्त्सना गर्नुभयो ।
“जेनजीहरूले उठाएका मागहरू सकारात्मक थिए । जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा भदौ २४ मा नेपालको इतिहासमै पहिलोपटक चार घण्टाको अवधिमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि सुनियोजित र संगठित हमला भयो,” खड्काले भन्नुभयो, “यसलाई सामान्य असन्तोषको अभिव्यक्ति भन्न सकिँदैन । हामी ठूलो ग्रान्ड डिजाइनमा परेका छौँ ।”
उपसभापति खड्काले भ्रष्टाचारको अन्त्य र नेपालमा सुशासन कायम हुनुपर्ने जेनजी आन्दोलनको सुरुको मागमा कांग्रेसको समर्थन रहेको बताउनुभयो । तर, पछि आन्दोलनमा देशविरोधी तत्त्वहरूले घुसपैठ गरेर हिंसा र विध्वंस मच्चाएको उहाँको कथन छ ।
“निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमा आक्रमण गरेर लुटपाट गर्नेहरूलाई नछाड्न कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,” उहाँले भन्नुभयो ।
आन्दोलनको आडमा तालिमप्राप्त समूह प्रयोग गरेर नेपालका संवैधानिक र राजनीतिक संस्थाहरूलाई लक्षित गरेर ठूलो क्षति पुऱ्याइएको आरोप पनि उहाँले लगाउनुभयो । उहाँले देशको इतिहास मेट्ने योजनाबद्ध षड्यन्त्र भएको बताउनुभयो ।
“नेतृत्व पुस्तान्तरणको कुरा अहिले चलिरहेको छ । यो विषयमा सबैभन्दा पहिला मैले नै आवाज उठाउँदै आएको हुँ,” उपसभापति खड्काले भन्नुभयो, “अहिले कोही महामन्त्री वा अरू कसैले उठाएर भएको होइन । अब सभापतिज्यूको स्वास्थ्यमा पूर्ण सुधार हुनेबित्तिकै हामी यसबारेमा छलफल गरेर निष्कर्ष निकाल्छौँ ।”
भाइले भन्नुभयो, मेरो ४े१ वर्षको कमाइ खरानी भयो
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका भाइ प्रदेश अस्पताल सुर्खेतका पूर्वनिर्देशक डा. डम्बर खड्काले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा आफ्नो घरमा आगजनी तथा लुटपाट हुँदा आफ्नो ४१ वर्षको कमाइ जलेर खरानी भएको बताउनुभएको छ ।
जेनजी आन्दोलनकारीले गएको भदौ २४ गते नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको घर भन्दै भाइको घरमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए ।
बुधबार आगलागीले खण्डहर भएको निवासमै पत्रकारहरूसँग कुराकानी गर्दै डा. खड्काले आफ्नो पुर्ख्यौली घरबाहेक आफ्नोमात्र करिब चार करोड बराबरको क्षति भएको बताउनुभयो ।
दुई वर्षअघि प्रदेश आन्दोलनका क्रममा पनि आफ्नो परिवार र आफ्नो घरमा आक्रमण भएको भन्दै डा. खड्काले यसपटक पुनः जेनजी आन्दोलनसँगै रिसइबीले आफ्नो निजी सम्पत्तिमाथि ठूलो क्षति पुगेको बताउनुभयो ।
डा. खड्का घर आगलागी हुँदा मानसरोवर कैलाश दर्शनका लागि तिब्बत यात्रामा हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अर्का भाइ विष्णु खड्काले पनि आफ्नो परिवारमाथि भएको आक्रमणको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।




