सानेपा(ललितपुर), ३ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभाको विघटन असंवैधानिक भन्दै सबै समस्याको समाधान संविधानभित्रबाटै खोजिनु पर्ने आफ्नो अडान दोहोर्याएको छ ।
ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी.स्मृति भवन, बी.पी. नगरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक ठहर गर्दै संविधानको दायराबाट राजनीतिक समाधान खोजिनुपर्ने पार्टीको धारणा सार्वजनिक गरेको हो ।
कार्य सम्पादन समितिको बैठकले भनेको छ, “संसद विघटनको यो उपक्रम संविधानको परिकल्पना र सम्मानित अदालतको व्याख्या विपरित छ । संसद विघटन असंवैधानिक छ । यो कदमले लोकतान्त्रिक उपलब्धी धरापमा पारेको छ । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास यही संविधान भित्र खोज्न सकिन्छ भन्ने नेपाली कांग्रेसको दृढ विश्वास छ ।”
कांग्रेसले अगाडि भनेको छ, संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ । वर्तमान संविधानको संरक्षण र पालनासँगै मुलुकको सफलता र देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प गर्दै यस्तो चुनौतीपूर्ण अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षार्थ नेपाली कांग्रेसले विभिन्न राजनीतिक दल तथा नागरिक समाज लगायत सबै सरोकारवालाहरुरूसँग समेत गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने निर्णय गर्दछ ।
नेपाली कांग्रेसले भ्रष्टाचारको नियन्त्रण, सुशासनको प्रत्याभूति एवं सामाजिक सञ्जाल सहज गर्ने जस्ता जेनजी पुस्ताको प्रदर्शनले अघि सारेका जायज मागहरूलाई आत्मासात् गर्दै बैठकले तिनलाई विधिवत रूपले संबोधन गर्न-गराउन नेपाली कांग्रेस सदैव प्रतिवद्ध रहेको जनाएको छ ।
नेपाली कांग्रेसको बैठकले लोकतन्त्रका लागि आजसम्म अविचलित रूपमा संघर्ष गर्नुभएका पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा.आरजु राणा देउवा माथिको अमानवीय र बर्र्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको नेपाली कांग्रेस कडा शव्दमा निन्दा र भत्सर्ना गर्दै साथै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते आपराधिक समूहहरूद्धारा गरिएका ध्वंसात्मक गतिविधिको छानबिन गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन न्यायिक छानबिन समिति गठन गर्न पनि माग गरेको छ ।
कांग्रेसले भनेको छ, “राष्ट्रपति भवन, सिंहदरवार लगायत राज्यका मुख्य अंग एवं लोकतन्त्रका आधार स्तम्भहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनै तहका कार्यालय, नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेताहरू– नेपाली कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाको विराटनगर स्थित ‘कोइराला निवास’, सर्वोच्च नेता गणेशमान सिंहको काठमाडौंं चाक्सीबारी स्थित ‘गणेशमान निवास’ र ललितपुरको बांडेगाउँ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को ‘आश्रम’, व्यावसायिक प्रतिष्ठानहरू, नेपालको ऐतिहासिक स्थान, नेपाली कांग्रेसका केन्द्रीय देखि स्थानीय वडा तहसम्मका कार्यालय एवं अन्य लोकतन्त्रवादी राजनैतिक दलका केन्द्रीय तथा मातहतका सबै तहका कार्यालय भवन, राजनैतिक दलका नेताहरूको निजी घर–डेरा, सर्वसाधारण जनताका निजी सम्पतिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरू तोडफोड, आगजनी र लुटपाटबाट सार्वजनिक एवं निजी क्षेत्रको खर्वौ सम्पतिको क्षति गरिएको घटनाप्रति कार्यसम्पादन समितिको यो बैठक कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन उच्च स्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्दछ ।”
बैठकको सुरुमा जेनजी पुस्ताको पछिल्लो प्रदर्शनमा जीवन गुमाएका युवाहरू एवं प्रहरी र सहित न्याय, समानता, स्वतन्त्रता एवं बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न विगतमा भएका सबै आन्दोलनहरूमा प्राण उत्सर्ग गर्ने लोकतान्त्रिक योद्धाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो।
बैठकले गत भाद्र २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा कयौं युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाउनु प¥यो भन्दै नेपाल आमाका महान सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको थियो । बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारको सम्पूर्ण प्रबन्ध राज्यले ब्यहोनुपर्ने माग राख्दै सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बैठकले सो घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कार्वाहीको माग पनि गरेको छ ।
संविधान दिवसको दिनमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै बदलिएको परिस्थितिमा पार्टीलाई थप सबल, सुदृढ र गतिशील बनाउँदै लैजानु पर्ने ऐतिहासिक दायित्वलाई हृदयङ्गम गरि सबैलाई संयम र वृहत्त एकता राख्न स्वदेश तथा विदेशमा रहेका सदस्य, समर्थक, शुभचिन्तक र समस्त नेपाली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गरेको छ ।
आजको बैठकमा पार्टीका पदाधिकारीहरू— उपसभापति धनराज गुरूङ्ग, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू— महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू— प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. शेखर कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, सुजाता कोइराला, एनपी. साउँद, आनन्दप्रसाद ढुंगाना र बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू— मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आ–आफ्नो धारणा राख्नु भएको थियो ।







