काठमाडौं, २८ भदौ । संविधानसभाबाट संविधान निर्माण गर्ने ऐतिहासिक कामको नेतृत्व गरेको नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले संविधानबाहिरबाट सरकार गठन गरेर असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घट्नाको विरोध गरेको छ ।
नेपाली कांग्रेसले शुक्रवार साँझ भएको बैठकको निर्णय सार्वजनिक गर्दै संविधानबाहिरबाट गठित सरकार र सो असंवैधानिका सरकारको सिफारिसको आधारमा गरिएको प्रतिनिधिसभाको विघटनको विरोध गरेको हो ।
शान्ति, संविधान र लोकतन्त्रको पक्षमा संसद विघटनको असंवैधानिक कदमका विपक्षमा शीर्षकमा सार्वजनिक गरिएको बैठकको निर्णयमा ,शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको उल्लेख छ । उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा ७ प्रदेश सभापति, मुख्यमन्त्रीहरु र प्रदेश संसदीय दलका नेताहरु आमन्त्रित रूपमा सहभागी हुनुन्थ्यो ।
सार्वजनिक गरिएको बैठकको निर्णयमा जेनजी युवाहरूको आब्ह्वानमा भदौं २३ र २४ गते भएको आन्दोलन पश्चातको विषम परिस्थितिमा संवादमार्फत समाधानका लागि सम्माननीय राष्ट्रपतिज्यूले पहलकदमी लिनुपर्छ र सबै पक्षसंग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्नुपर्छ भन्ने नेपाली कांग्रेसले भदौ २५ गते नै विज्ञप्तिमार्पत स्पष्ट धारणा सार्वजनिक गरेको उल्लेख गरिएको छ ।
बैठकको निर्णमा भनिएको छ,” नेपाली कांग्रेसले जिम्मेवार ढंगले आग्रह गरेको थियो– ‘राष्ट्रपतिज्यूले लिएको पहललाई जेनजी पुस्ताको माग र भावना बमोजिम नै निष्कर्षमा पु¥याउनु पर्छ र जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्छ । त्यसो गर्दैगर्दा बदलिएको परिस्थिति बमोजिमको ‘समाधानमुखी सहमति’ लाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै बिद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो ।”
कौग्रेसले संविधानको संरक्षक र पालनकर्ताका रुपमा ‘आवश्यकताको सिद्धान्त’ अनुरुप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधान सम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने, हाम्रो प्रस्तावले राजनैतिक निकासमा पु¥याउने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको जानकारी दिएको छ ।
कांग्रेसले भनेको छ, “हामीले गरेको यो प्रस्तावमा सवैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अबलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो । यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अबस्था रहँदा रहँदै ‘सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी’संविधान विपरित निर्णयमा पुग्नु दुःखद छ ।”
कांग्रेसले भनेको छ, “संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल छैन । यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।”
कांग्रेसले भनेको छ, “भदौ २३ र २४ मा भएको अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरी कार्वाहीको दायरामा ल्याउदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्नेछ । त्यसैले यो अबस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्बक ध्यान दिनुपर्नेछ । यो गुरुत्तर दायीत्व नेपाली काँग्रेससंग अपेक्षित छ ।”
यस्तो चुनौतीपूर्ण अबस्थामा स्थितिलाई थप विग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेपाली कांग्रेसले पार्टिभित्र, अन्य राजनीतिक दल तथा नागरिक समाज लगायतसंग समेत परामर्श र संवाद गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पछिल्लो आन्दोलनमा जीवन गुमाएका युवाहरूप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ सम्पुर्ण घाइतेको सम्पूर्ण उपचार प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ । सिंहदरबार सहित देशभर जलेका राज्य, निजिक्षेत्र र समग्र संरचनाको क्षती आंकलन गर्दै अविलम्ब पुनर्निर्माण लागत र योजना तर्जुमा गर्न ध्यानाकर्षण गराने निर्णय बैठकले गरेको छ ।
नेपाली कांग्रेसले बदलिएको परिस्थितिमा संयम र एकता राख्न स्वदेश र बिदेशमा रहेका हाम्रा सदस्य, शुभचिन्तक र समस्त नेपालीलाई हार्दिक अपील पनि गरेको छ ।






