काठमाडौं, २४ भाद्र । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (२०८२ भाद्र २४ गते मंगलबार) बिहान ९:०० बजे सभापति निवास, वुढानिलकण्ठमा बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिसकिएको जानकारी दिनुभएको छ ।
हिजो भाद्र २३ गते राजधानी र देशका मुख्य शहरहरुमा भएको जेन जीको प्रदर्शन अनियन्त्रित बन्दै निषेधित क्षेत्र पार गरेपछि स्थानीय प्रशासनले नियन्त्रणका लागि बल प्रयोग गर्दा राजधानीमा काठमाडौंमा १७ र राजधानी बाहिर इटहरीमा दुई गरी १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
सो घट्नापश्चात बसेको नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीहरुको बैठकको सुझाब अनुसार गृहमन्त्री रमेश लेखकले हिजो सोमबार साँझ नै राजिनामा दिइसक्नुभएको छ ।
सरकारले अभिव्यक्तिको स्वतन्त्र माध्यम बन्दै गएका सामाजिक सञ्जाल प्लेटफर्महरु नेपालमा दर्ता गर्न दिएको समय सीमामा दर्ता हुन नआएको भन्दै दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई बन्द गरेपछि तिनलाई खुलाउने माग सहित जेन जीले सोमबार देशका प्रमुख सहरहरुमा विरोध प्रदर्शन आयोजना गरेका थिए । सो विरोध प्रदर्शनमा सरकारलाई बदनाम गराउन उद्धत राजनीतिक शक्तिहरुले घुसपैठ गरेर प्रदर्शनालाई भड्काएको पाइएको छ ।




