काठमाडौं, २६ भदौ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री पदबाट के.पी. शर्मा ओलीले राजिनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अर्को सरकार बनाउने प्रकृया सुरु गर्नमा नेपाली सेनाले बन्देज गरेको भन्दै देशमा संवैधानिक प्रक्रिया सुचारु गर्न आज बानेश्वरमा प्रदर्शनको गरेको छ ।
विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर नेपाल विद्यार्थी संघका युवाहरूले प्रदर्शन गरेका छन् ।
यही भाद्र २३ गते सोमबार जेनजीको प्रदर्शनका क्रममा प्रहरीबाट चलाइएको गोली लागेर १९ जनाको मृत्यु भएपछि मगलबार बिहान स्थिति बिग्रन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिपल्ट २४ भदौमा राजीनामा दिनुभएको थियो।
तर प्रधानमन्त्रीले राजिनामा दिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको बेलामा सैनिक परिचालन हुन मानेन र मंगलबार प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधीवक्ताको कार्यालय, नेपाल राष्ट्र बैंकमा आगजनी गरेका थिए । त्यसै दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के.पी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, भैसेपाटीस्थित मन्त्री निवास, उपप्रधानमन्त्री प्रकाशमान सिंहको चाक्सिबारी निवास, राजिनामा दिइसकेका गृहमन्त्री रमेश लेखकको निवास लगायत कांग्रेस तथा एमालेका नेताहरुको घर छानीछानी आक्रमण र आगजनी गरेका थिए ।
सरकारी तथा राजनीतिक दलका नेताहरूको घरमा आगजनी, तोडफोड तथा लुटपाट हुन थालेपछि नेपाली सेनाले तत्काल यस्तो कार्य रोक्न आग्रह गरेको थियो । तर सेनाले आफूभने मंगलबार राति १० बजेबाट परिचालित हुने स्वघोषणा गरेको थियो । त्यतिवेलासम्म देशका कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका मुख्य भवनहरु जलेर खरानी भैसकेको थियो ।
अहिले कर्फ्यूमा सेना किन परिचालन भएन र कर्फयू लागेको समयमा देशका राज्यका सबै अंगका सरकारी भवन, राष्ट्रप्रमुख,सरकारप्रमुख निवास,संवैधानिक अंगका पदाधिकारीको निवास र कार्यालय भवनहरु जल्न दियो भन्ने प्रश्न आम नागरिकले उठाएका छन् । त्यसको सिको गर्दै जेनजीका नाममा देशका मुख्य शहरहरुमा सरकारी भवन जलाउने र नेताहरुको निवासमा आक्रमण गर्ने काम भएको थियो । आक्रमणकारीहरुले नेपालका स्थापित,प्रतिष्ठित र सफल उद्यमी,व्यापारी र उद्योगीका प्रतिष्ठानहरु समेत ध्वस्त पारेका थिए ।
यो देशलाई विघटनको संघारमा पुर्याउने दुस्प्रयास भर्खर कलेज टेकेर बन्दभएको फेसबुक खोल्ने माग सहित शान्तिपूर्ण आन्दोलनमा भेला भएका किशोर किशोरीको थिएन । यसमा अन्य तत्वको घुसपैठ भएको थियो । नेपाल विद्यार्थी संघले सवैधानिक व्यवस्थाको बहालीको माग गर्दै आन्दोलनका नाममा भएको तोडफोड,आगजनीको छानवीन गरि दोषीमाथि कारबाही गर्ने माग पनि उठाएको छ ।




