सानेपा(ललितपुर), २९ असोज । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्धारा विदेशस्थित सबै जनसम्पर्क समितिहरुलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने गराउने सम्बन्धमा पत्राचार गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिका सदस्य एवम् विभागका प्रमुख किरणराज पौडेलले हालै प्रेषित गर्नुभएको पत्रमा नेपालको वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त जानकारी पनि दिइएको छ । पत्रमा भनिएको छ, “साथीहरुलाई अवगत नै छ, देशको राजनीतिक परिस्थिति सामान्य छैन् । नेपाली नागरिकहरुले निर्वाचित गरेको संविधानसभा मार्फ़त , नेपाली नागरिकहरुकै प्रत्यक्ष सहभागितामा निर्माण गरी २०७२ सालमा असोज ३ गते जारी गरिएको नेपालको संविधानलाई किनारामा राखेर संविधानबाहिरबाट अन्तरिम सरकार गठन गरिएको छ । अन्तरिम सरकारको सिफारिश बमोजिम राष्ट्रपतिले संघीय संसदको प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकि सकिएको छ ।विकसित राजनीतिक घटनाक्रमका विषयहरुमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ । आश्विन २८ गते बसेको केन्द्रीय समितिको बैठकमा आदरणीय सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीले प्रजातान्त्रिक प्रक्रियालाई इंकार नगर्ने तर कानूनी प्रक्रियालाई समेत सम्मान गर्ने निर्देशन गर्नु भएकोछ।पार्टीका हरेक गतिविधिलाई विभागले यहाँहरुलाई जानकारी दिएको पनि छ, विभागको धभदउबनभ धधध।वबलबकबmउबचपब।यचन मार्फ़त दिंदै जाने पनि छ । यहाँहरुसंग जुम मिटिड,टेलिफोन र सामाजिक सञ्जाल प्लेटफर्महरुका माध्यमबाट सल्लाह र सुझाव लिने प्रक्रियालाई पनि विभागले निरन्तरता दिंदै आएको छ । ती सुझाबहरु पार्टीको म सहभागी भएका औपचारिक वा अनौपचारिक बैठकहरुमा प्रस्तुत पनि गर्दै आएको छु ।”
आगामी निर्वाचन र मतदाता नाम दर्ताको महत्वको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “अन्तरिम सरकारका प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको फागुन २१ गते निर्धारित निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम थालेको छ । नयाँ नाम दर्ता र सच्याउने कार्य २०८२ कार्तिक ३० गतेसम्म रहने छ । निर्वाचन आयोगको सूचनामा १६ बर्ष पुगेका नेपालीहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ बर्ष पुगेका नागरिकलाई मतदानको अधिकार दिने सूचना सार्वजनिक गरेको छ । यसैले नेपाली जनसम्पर्क समितिको कार्यसमितिमा रहनु भएका, महाधिवेशन प्रतिनिधिहरू भई हाल नेपालमा फ़र्की सकनु भएका तथा प्रवासमा रहनुभएका मतदाता नामावलीमा नाम छुटेका साथीहरु, यहाँहरुका परिवारका सदस्यहरु र १६ बर्ष उमेर पुगेका नवयुवाहरुको नाम दर्ताका साथै पहिले नाम दर्तामा नाम, थर, लिंग, उमेर, ठेगानामा त्रुटी भएर सच्च्याउनु पर्ने, बसाईँ सराइँ भएर ठेगाना परिवर्तन गर्नुपर्ने अवस्थामा रहनुभएका साथीहरुले सो अनुरुप नाम दर्ता र नामावली अद्यावधिक गर्न गराउनुहुन अनरोध गर्दछु । नेपाली जनसम्पर्क समितिको जिम्मेवार पदमा रहेर अध्यक्ष, कार्यसमिति पदाधिकारी,महाधिबेशन प्रतिनिधि, महासमिति सदस्यहरू जो नेपाली फ़र्की सक्नु भएकोछ, उहाँहरूको नाम, ठेगान र सम्पर्क नम्बर विभागमा जानकारी गराउनु हुन अनुरोध छ। जनसम्पर्क समितिको कार्यसमितिमा रहेका सबै साथीहरुले विदेशमा रहनुभएका नेपाली कांग्रेसप्रति प्रतिबद्ध, झुकाव राख्ने, सद्भाव र शुभेच्छा राख्ने सबैलाई यो प्रक्रियामा नछुट्ने गरी सहभागी गराउनु हुनेमा म विश्वस्त छु ।”
विभागका प्रमुख पौडेलले देशबाहिर रहनुभएका साथीहरुलाई नेपालमा रहनुभएका परिवार सदस्य र आफन्तहरुलाई पनि यो प्रक्रियामा संलग्न गराउन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सबै साथीहरुले नेपालमा रहनुभएका परिवारजन र आफन्तहरुलाई पनि यो प्रक्रियामा सहभागी गराउन उल्लेख्य भूमिका खेल्नुहुने मैले विश्वास लिएको छु ।”
उहाँले विदेशबाट मतदान गराउन पाउने सुविधाका बारेमा पार्टीले संबन्धित ठाँउमा पहल गर्दै आएको उल्लेख गर्नुभएको छ , विदेशमा रहेका नेपालीहरुले पनि नेपालमा मतदान गर्न पाउने अधिकारको लागि नेपाली कांग्रेस पार्टीले लामो समयदेखि आवाज उठाउँदै आएको यहाँहरुलाई विदितै छ ।उहाँले भन्नुभएको छ,”विदेशबाट मतदान गर्ने निर्णय र तयारी भयो भने त्यसका लागि मतदाता नामवलीमा नाम दर्ता गर्ने, मतदानस्थलमा मतदाता पुर्याउने वा अनलाईन मतदान पद्धतिबाट मतदान गर्न सिकाउने, नेपाली कांग्रेसको पक्षमा मतदान गर्ने चुनावी माहोल तयार पार्न लोकतन्त्रप्रति प्रतिबद्ध हाम्रा,समर्थक,शुभेच्छुक र तटस्थ साथीहरुलाई पार्टीप्रति आकर्षित गर्नुपर्ने आवश्यकता छ ।”
विभाग प्रमुख पौडेलले जनसम्पर्क समितिमा अपूर्व एकता कायम गरेर आगामी निर्वाचनमा पार्टीलाई बहुमतको सरकार निर्माण गर्ने अवस्थामा पुर्याउने वातावरण निर्माण गर्न पनि सबै जनसम्पर्क समितिहरुलाई अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “कांग्रेस पार्टी आगामी फागुन २१ गतेको निर्वाचनको महासंग्राममा होमिने अवस्था भएकोले जनसम्पर्कभित्र अपूर्व एकता कायम गरी सबै साथीहरुलाई समेटेर अगाडि बढ्दै नेपाली कांग्रेसलाई बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन यहाँहरुले सदा झै अमूल्य योगदान गर्नुहुने मैले विश्वास लिएको छु ।”




