नयाँदिल्ली (भारत) ९ भदौ । नेपाली जनसम्पर्क समिति स्थापनाको स्वर्ण महोत्सव र नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर नेपाली जनसम्पर्क समिति भारतले भारतभर तीज विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
प्रवासमा रहेका नेपालीहरुको पुनर्मिलन र नेपाली संस्कृतिको जगेर्ना दोहोरो उद्देश्यले आयोजित कार्यक्रममा महिलाहरुको व्यापक सहभागिता रहेको नेपाली कांग्रेसका नेता एवम् नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभएको छ । मुख्य समारोहहरुमा आफै उपस्थित भएर सम्बोधन गर्नुभएका अध्यक्ष पाण्डेले प्रवासमा रहेका नेपालीको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
नेपाली जनसम्पर्क समिति भारतले तीज पर्वका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष पाण्डेले प्रवासी नेपालीका समस्या समाधान गर्न नेपाल सरकार र भारत सरकारबीच गहिरो समन्वय आवश्यक रहेको बताउनुभयो । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले नेपालीहरूले भोगिरहेका रोजगार, शिक्षा, स्वास्थ्य, कागजात तथा सामाजिक पहिचानसम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
“यी समस्या व्यक्तिगत मात्र होइनन्, यो दुई देशबीचको सम्बन्धसँग प्रत्यक्ष जोडिएको विषय हो, नेपाल सरकार र भारत सरकारले मिलेर मात्र यसको दीर्घकालीन समाधान सम्भव हुन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, जनसम्पर्क समितिका राजनीतिक सल्लाहकार रवीन्द्रराज भण्डारी, आर्थिक सल्लाहकार रवीन्द्रजङ्ग थापा, एभरेष्ट चेम्बर अफ कमर्सका महासचिव मोहन कार्कीलगायतको सहभागीता रहेको थियो ।
नेपाली जनसम्पर्क समितिको गौरवपूर्ण स्वर्ण वर्षका अवसरमा जनसम्पर्क समिति भारतले भाद्र ८ आइतबारदेखि १० भाद्रसम्म( २४–२६ अगस्त २०२५ मा) भारतका विभिन्न सहरहरूमा विशेष तीज उत्सव एवं सांस्कृतिक भेला कार्यक्रम आयोजना गरिरहेको छ।
अध्यक्ष पाण्डेले दिनुभएको जानकारी अनुसार भारतको राजधानी नयाँदिल्ली, चण्डीगढ, मुम्बई, भोपाल, जबलपुर, अमरनाथ, मीरा भाइन्दर, मद्रास, हैदराबाद, पुणे, कोलकाता, लुधियाना, डडुमजारा, कौशाम्बी गढ, खुट्टा लौरा, बैंगलोर, कोटम, कृष्णराजपुरम, महली शाखा लगायत ३७ स्थानहरूमा तीज बिशेष कार्यक्रम आयोजना गरिएको छ ।
यी कार्यक्रमहरुले नेपाली संस्कृतिको जगेर्ना,संरक्षण,विस्तारका साथै नेपालमा लोकतन्त्र र संसदीय व्यवस्थाको स्थापना र विकासका लागि अनवरत संघर्ष गर्दै आएको नेपाली कांग्रेसप्रतिको आस्था अटुट राख्न सघाएकोले भारतमा रहेका लोकतन्त्रवादी नेपालीहरुमा नयाँ उत्साहको सञ्चार भएको बताइएको छ ।
नेपाली जनसम्पर्क समिति भारत दीपककुमार झाले सबै आमा, दीदीबहिनीहरूमा तीज पर्वको शुभकामना टक्र्याउदै प्रवासमा रहेर पनि आफ्नो सभ्यता र संस्कृति स्वतन्त्रतापूर्वक मनाउँन पाउनु आफैमा गौरवपूर्ण विषय भएको बताउनुभएको छ । उहाँले हर्ष, सद्भाव, श्रद्धा, तथा सामाजिक जागरणको सन्देश बोक्ने तीज पर्वले समस्त नेपाली महिलाहरूमा एकता, प्रेम र पारिवारिक सम्बन्ध मजबुत पार्ने उल्लेख गर्दै यो पर्वलाई अभियानकै रुपमा मनाउन जनसम्पर्क समितिको स्वर्ण महोत्सवले प्रेरित गरेको बताउनुभएको छ।
तीज पर्वका अवसरमा आयोजित कार्यक्रमले प्रवासमा रहेका नेपाली महिलाहरुलाई पुनर्मिलन गराउनुका साथै जनसम्पर्क समितिमा आवद्ध हुन पनि प्रेरित गरेको महिला नेत्रीहरुले बताउनुभएको छ।




