काठमाडौँ, १६ मङ्सिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।
सभापति देउवाले आज प्रेस विज्ञप्तिमार्फत देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा सबैले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनुभएकामा धन्यवादज्ञापन गर्नुभएको हो । उहाँले आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गर्नुभएको छ ।
यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको सभापति देउवाको भनाइ छ । उहाँले शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिनुभएको छ ।
यसका साथै मतदान कार्यमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नुहुने सम्पूर्णलाई पार्टीका तर्फबाट सभापति देउवाले धन्यवाद दिनुभएको छ ।
६२ प्रतिशत मत खसेको अनुमान
आज सम्पन्न उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार ७ सय ९९ मतदाता रहेकामा पछिल्लो विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।




