सानेपा(ललितपुर), २१ कर्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले पार्टीको जारी बैठकमा आज सारगर्वित मन्तव्य राख्नुभएको छ ।
उहाँले आफ्नो मन्तव्यमा भाद्र २४ गते जेन-जी आन्दोलनको आवरणमा विध्वंशकारी र आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको सांघातिक आक्रमणमा परी घाइते भएर उपचारार्थ सिंगापुरमा रहनुभएका पार्टीका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजू देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो आक्रमणको निन्दा र भत्सर्ना गर्नुभएको थियो ।
विभाग प्रमुख पौडेलले जेन-जी आन्दोलनका क्रममा जीवन गुमाएका प्रदर्शनकारी र प्रदर्शनकारीको आक्रमण र आगजनीमा परेर जीवन गुमाएका सुरक्षाकर्मी र सर्वसाधरणप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो ।उहाँले सो आन्दोलनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै तहका भौतिक संरचनाका साथै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयहरु, पार्टीका सभापतिसहित विभिन्न नेताहरुको निजी आवासमा भएको आक्रमण,तोडफोड र आगजनीको निन्दा गर्दै यसबाट हुनपुगेको क्षतिप्रति दुःख पनि प्रकट गर्नुभयो ।
उहाँले युवा र नवयुवा पुस्ताको ऊर्जा र सिर्जनात्मक शक्तिलाई पार्टी र राष्ट्रको निर्माणमा लगाउन पार्टीका संस्थापक नेताहरुले नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ स्थापना गरेर राजनीतिमा सक्रिय हुने दूरगामी सोंच राख्नुभएको तर त्यसको शक्ति, सामाथ्र्य र उपादेयतालाई उपेक्षा गर्दा अहिलेको परिस्थिति उत्पन्न भएको पनि बताउनुभयो ।
केन्द्रीय सदस्य पौडेलले पार्टीको नियमित महाधिवेशन २०८२ मा नै गर्ने कुरा पार्टीको महासमितिको बेठकमा पनि उठेको तर सो अनुरुप का मगर्न पार्टीको जिम्मेवारीमा रहनुभएका साथीहरुले नसक्नुभएको पनि उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य एवम् विभागका प्रमुख पौडेलले जेनजी भावनाको कदर गर्दै नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले आजभन्दा ५६ बर्ष पहिले नवयुवाहरुलाई राजनीतिमा स्पेस दिन, विद्यार्थी फाँट हुँदै पार्टी राजनीतिबाट राष्ट्रिय राजनीतिमा जान प्रेरित गरेको बैशाख ६ गते पार्टीको नियमित महाधिवेशन गर्ने मिति पनि प्रस्ताव गर्नुभएको थियो ।
उहाँले केन्द्रीय समितिमा दिनुभएको मन्तव्यको पूर्ण पाठः
आदरणीय कार्यवाहक सभापतिज्यू ,
केन्द्रीय कार्यसमितिका पदाधिकारीज्यूहरु,
केन्द्रीय सदस्यज्यूहरू, आमन्त्रित केन्द्रीय सदस्यज्यूहरू,प्रदेश सभापतिज्यूहरू, मुख्यसचिव लगायत कार्यालयका साथीहरु .
आदरणीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजू देउबा माथी भाद्र २४ गते ज्यान मार्ने गरी भएको सांघातिक आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै शिघ्र स्वास्यलाभको कामना गर्दछु।
जेन जी पुस्ताको आन्दोलनका मृतकप्रति हार्दिक श्रद्धांजलि, घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछु। उनिहरुलाई उचित क्षतिपूर्ति र राहतको माग गर्दछु।
राजनैतिक नेताहरूको घर, सिहदरबार, अदालतहरू, नेपाली कांग्रेसका पार्टी कार्यालयहरू ध्वस्त पारिएको छ।आगलागीबाट घरबार बिहीन हुनु भएका नेताजीहरूमा सहानुभूति व्यक्त गर्दछु।
( सन्तनेता कृष्ण प्रसाद भट्टराई आश्रम, कोइराला निवास,गणेशमान निवास, निधि निवास,बीपी को शालिक जस्ता धरोहर माथि आक्रमणको घोर निन्दा एवम् भर्त्सना गर्दछु। भाद्र (२३र २४ को कारबाही, लुटपाट, आगजनीमा सम्लग्न दोषिलाई कारवाहीको दायरामा ल्याउन र पार्टीका सदस्यहरू सम्लग्न भए क्रियाशिल सदस्यता रद्द गर्न पार्टीको तर्फ़ बाट छानविन समिति गठन गर्न माग गर्दछु।
जेनजी पुस्ताले उठाएका भ्रष्टाचार, कुशासन र डिजीटल प्लेटफर्म बन्दको विरोधमा उठाएका मागको सम्वोधन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु। नेपाली काङ्ग्रेसको तर्फबाट शासन गर्न सरकारमा जानु भएका नेताहरूले कार्यसम्पादन गर्ने क्रममा भएको कमजोरीको कारणले पार्टीको नाम समेत जोडिन पुगेकोमा दुख लागेको छ। यो जेनजी पुस्ताको आन्दोलन पार्टीका विरुद्ध होईन, पार्टीकातर्फ़बाट पटक पटक सत्तामा गएर ग़लत गरेकाहरुको विरुद्धमा थियो। भ्रष्टाचार र कुशासनमा मुछिएका सत्तामा पुगेर पनी सकारात्मक उपलब्धि दिन नसकेको परिणाम थियो। जिम्मेवारी पदमा बसेर काम नगरेका ती सबैले आत्माआलोचना गरी रहनु भएको पनि छ।
नेपाली कांग्रेस पार्टी बट हाल सम्म लाभको पदमा पुगेका सबैले आआफ्नो आर्थिक विवरण पार्टीमा अनिवार्य बुझाउन, पार्टीका हाल जिम्मेवारीमा रहेका नेताहरूको अस्वाभाविक खर्चको श्रोतको छानविन गर्न माग गर्दछु । जेनजी पुस्ताको आन्दोलनलाई थप उर्वर भूमि बन्न नदिन पार्टी नेताहरू सचेत बनिदिन आग्रह गर्दछु।
राष्ट्रिय सवालमा
कांग्रेसको यो बैठकले पार्टीको आन्तरिक विषय संगसंगे देशका जल्दाबल्दा समस्याहरूलाई पनि सम्बोधन गर्न सकोस। राष्ट्रिय राजनीतिको मुलधारबाट कांग्रेस ओझेलमा पुगेको महसुस भएको छ। कांग्रेस बिना फागुन २१ को निर्वाचन संभव छैन, निर्वाचन भएर संसदले पूर्णता नपाईकन संविधान बच्दैन। हामीले जनता सामु गरेका कबूल पुनस्मररण गरौ। बिकासका तथ्यांकहरू र गिर्दै गईरहेकों देशको आर्थिक अवस्था उद्योगी, व्यापारीको मनोबल गिरेर पूजीं पलायन भईरहेको विषयलाई गम्भिर भएर सोचियोस।
नेपाल र असंलग्न परराष्ट्र नीति
नेपालले सदैव असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आईरहेकों छ। यो नीति नेपालको पहिचान, स्वतन्त्रता र तटस्थताको आधार हो। यस नीतिबाट नेपालले साना राष्ट्र पनि विश्व राजनीतिको मुख्य धारमा शान्तिपूर्ण र सम्मानजनक रूपमा टिक्न सक्छ भन्ने प्रमाणित गरेको छ। यो नीतिको निरन्तरता नै नेपाल र नेपालीको हितमा रहेको छ। नेपाल सरकारले कहिलेकाँही परिस्थितिको सही आंकलन गर्न नसकेर अंतराष्ट्रिय राजनीतिको प्रभाबले हामीलाई पनि छोएको छ। दुई ठुला छिमेकी भारत र चीनको जनसांख्यिक लाभ नेपालले लिन सक्नु पर्दछ। चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ(जीएसआई) मा नेपालको संलग्नताको विषयले केही सवाल उठाएको छ। एशिया प्यासेफिक क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय रणनीतिक समूहको गठबन्धन (क्वाड) र छिमेकी देश चीनले तयार गरेको ग्लोबल सेक्युरिटी इनिसियटिभबारे नेपाल जानकार हुनै पर्छ र कूटनीतिक ढंगले संवाद गर्न सक्नु पर्दछ। हामीले छिमेकी मित्र राष्ट्रहरू भारत र चीनका साथै शक्तिसम्पन्न दाता राष्ट्रहरूसग सुमधुर प्यारको सम्बन्ध राख्न सक्नु पर्दछ।
जेन -जी पुस्ताको आन्दोलन
आफ्नो एकाघरको मुलीमाथि विपक्षीले ज्यान मार्न आउँदा, सांघातिक आक्रमण गर्दा बचाएन साथ पो दिईन्छ, आक्रमणमा परी घाइते भएको बेला उपचार गराईन्छ, सहानुभूति दिइंन्छ। एकाघर परिवारका सदस्यहरू मरणासन्न अवस्थामा अस्पतालमा उपचार गराई रहेको बेला तथानाम गाली गर्न हाम्रो संस्कारले दिदैन, तर आज पार्टी नेता र परिवारका ननिजक बसेका मित्रहरूबाट त्यही भयो।
भाद्र २३ र २४ को घटना पछि भाद्र २८ गते बसेको पहिलो कार्यसम्पादन समितीको बैठकले आफ्नै सभापतिमाथिको साङ्घातिक आक्रमणको निन्दा र भर्त्सनाको त कुरै छैंन, स्वास्थ्यलाभ सम्म भनेको छैन। यो भावी पुस्ताको लागि दस्तावेज हो। यो सच्चाइयोस ।२०१७ साल पुष १ गतेको ,२०५८ असोज १८ गतेको लोकतन्त्रमाथि भएको प्रहारको बिरुद्धको घटनाको बारे अहिले हामीले खोज्दा त्यो बेलाको दस्ताबेज हेरेर थाहा पाउने हो। भोलि भावी पुस्ताले सभापतिमाथि भएको बर्बर आक्रमण पछि कांग्रेसले के भनेको रहेछ भनेर हेर्ने बेला हामीलाई ती पुस्ताले के भन्छन्?
महामन्त्रीज्यूहरु जिम्बेवार पदाधिकारी हुनुहुन्छ। जेन-जी पुस्ताको आन्दोलन पछि तपाईंहरूले ब्यक्त गर्नुभएका अभिव्यक्तिहरु पदीय मर्यादा अनुकुल छैनन, पुनः एक पटक सुन्न आग्रह गर्दछु। तपाईहरुबाट यस्ता मन्तव्य आइरहनु दुःखद हो। उचाले पछि स्थिति सम्हाल्ने जिम्मा पनि तपाईहरुकै हो। महामन्त्रीजीहरु काङ्ग्रेसको बिधानको धारा (२७)महामन्त्रीको काम,कर्तव्य र अधिकार फेरि पढनुहोस। अनि कुरा गरौंला।
पार्टी महाधिवेशनका सम्बन्धमा
काङ्ग्रेसको विधान बमोजिम तोकेको समय २०८२ मंसिरभित्र १५ औ महाधिवेशन होस भन्ने हाम्रो माग हो। महाधिवेशनको तयारीको पहिलो काम क्रियाशील सदस्यता वितरण हो। यो काम अलपत्र अबस्थामा छ। २०७९ साल साउनमा यो काम गर्न महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा 'क्रियाशिल सहायता व्यवस्थापन समिति' वनेको थियो। उहाँले आफुले गरेको कामको प्रगति सुन्यौं। हालसम्म उहाँको समितिको ८ वटा बैठक बसेका रहेछन्। ३ जिल्लाको बाहेक ७४ जिल्लाको क्रियाशील नवीकरण वाँकि रहेको सुनियो। नयाँ क्रियाशिल त वितरण शुरु भएकै रहेनछ। जनसम्पर्क समिति कुवेत र नर्वेको अधिवेशन गर्ने बेला आज भन्दा १ वर्ष अगाडि़ नयाँ सदस्यता नदिएकोले पुरानै नवीकरण गरेर अधिवेशन सम्पन्न भएको थियो। ज़िम्मा लिएको व्यक्तिले काम नगरेर आज यो अवस्था आएको हो।
नयाँ जेनजी पुस्तालाई समेटर पर्याप्त समय दिई नयाँ सदस्यता वितरण प्रक्रियाका लागि समय चाहिन्छ होला। वितरित नवीकरण र नयाँ क्रियाशिलको छानविन र स्वीकृतीको समय पनि चाहिन्छ होला। महामन्त्री र सहमहामन्त्रीजीहरुले पेश गरेको धारणा सुनियो। महामन्त्रीजीले पेश गरेको कार्यतालिका अनुसार मङ्सिर १० गते भित्र नवीकरण र नयाँ बितरण गर्ने भन्नुभयो। तर उहाँले गर्नुहुन्न। गर्न सक्नु पनि हुन्न। नेपाली कांग्रेसको वेबसाईटमा १४ औ महाधिवेशनदेखि हाल २०८२ भाद्र २० गते सम्म भरेका करिब ३०४१ अन्लाईन सदस्यहरु छन। अहिलेसम्म कति जनालाई सदस्यता दिनु भयो ? १९७६ जना पैसा समेत तिरि सकेका छन । ति कसैले पनि सदस्यता पाएका छैनन। अनि मैले पत्याउन पर्ने ? तपाइहरुले डिजिटल माध्यमबाट सदस्यता बाड्नु हुन्छ भनेर ? पार्टीको वेबसाईट हेर्नुहोस, तपाईंहरुले गरेका सबैकामहरु त्यही देखिन्छन्। मैले जनसम्पर्क समितिहरूलाई अपडेट गर्न वेबसाइट र मोबाइल एप्स बनाउदा पाएको सास्ती झलझली याद आऊछ। मैले बिभागमा २८ जना साथीहरु राखेर बिस्तार गर्दा पाएको सहयोग जस्तै पार्टीका ७२ विभागका करिब ३६०० साथीहरूले पद पाँउदा पार्टीलाई के नोक्सान हुने थियो र ? भागबन्डा गरेर बिद्यार्थी बिहीन नेबिसंघ, तरुण बिहीन तरुण दलको ७ । ७ सय सदस्यीय समिति बनायो कस्ले ? भागबण्डामा सदस्यहरु कसले बनाएको हो ? जब नेबिसंघ विद्यार्थी निरपेक्ष भयो, त्यो उमेर समूहका बिद्यार्थीहरू जेन-जी पुस्ताको नाममा सामाजिक संजालमा जोड़िन पुगे। हिजो २०४६ सालको आन्दोलन यही उमेर समूहका हामीले गरेको होईन ? नेबिसंघको अगुवाईमा भएको होइन ?
मलाई याद छ। तपाइँ हामी सगसंगै नेबिसंघमा सदस्य थियौं। धेरै संख्यामा अहिले पार्टी पदाधिकारीहरु हुनुहुन्छ। ४५ बर्ष देखिको नेबिसंघको राजनीतिक यात्रामा २०४५-४६ को जनाअन्दोलनको याद आउछ। जेल बसेको ,कस्तडी बसेको मात्र होइन, जेलभित्रको सकृयता शायद तत्कालीन नेबिसंघका केन्द्रीय अध्यक्ष बालकृष्ण खाण दाइलाई स्मरण होला। त्रिचन्द्र क्याम्पसमा म भन्दा अगाडिका नेबिसंघका सभापति हाल गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सोध्नुभयो भने थाहा पाउनु होला। म भन्दा पछाडिको नेबिसंघको सभापति शंकर भन्डारी, त्यसपछिको स्वबियु सभापति किशोर सिह राठौर, पछिका सभापति गगनकुमार थापा अहिले यहाँ सहमहामन्त्री र महामन्त्री हुनुहुन्छ। अहिलेको जेन-जी पुस्ता भनेको नेबिसंघ होइन? सन्तनेता कृष्णप्रसाद भट्टराईले नेबिसंघको स्थापना गरेर स्वदेश मै बसेर शान्तिपुर्ण आन्दोलन गर्नुभएको किन रहेछ भन्ने मर्म सम्झना गर्नुहोस्। आज जेन-जी को नाममा तिनैको आश्रम छाता, सुराही र टिनको बाकस नस्ट गरिएको छ। राष्टियता,लोकतन्त्र र लोकतान्त्रिक समाजवादको आस्था र विचारले भरिपूर्ण नेबिसंघ विद्यार्थी सापेक्ष र तरुण दल तरुण युवा सापेक्ष बनाउनेतर्फ लागौ ।
तपाई पदाधिकारीज्यूहरु सबैलाई हामी सबै सदस्यहरूले चिनेका छौ। तपाईहरूको मिलेमतोले यो अबस्था आउन मद्दत गरेको छ।
यो कार्यसमितिमा आए पछि मैले काम गरेको छु। गफ गरेको छैन, मेले कांग्रेस बनाउनु छ, कुनै व्यक्तिलाई बनाउनु छैन। तपाई पदाधिकारीहरु र संसदीय समितिले टिकटको लागी भागवण्डा, बाँडिचुडी, लुछाचुडी गरिरहनु होस । झगडा गरिरहनु होस् । कागजमा पेश गरेर, प्रायोजित अनलाईन पत्रिका र सामाजिक संञ्जालमा आकर्षक डिजाइनमा सामग्री प्रकाशित गरेर अधिवेशन हुदैन । आत्मा आलोचना गर्नुहोस, काम गर्नुहोस महाधिवेश हुन्छ। आफूले काम नगर्ने, अरुलाई दोष दिएर उम्किन मिल्दैन महोदय।
तपाईहरु आफै समानुपातिक सिट लिनुभएको हो, आफनो पार्टीका साथीहरुलाई वलि चढाएर आफु जितेर आउनु भएकै हो । किरण पौडेल ४५ वर्षको सक्रिय राजनीतिक यात्रामा वर्तमान पदाधिकारीहरु र संसदीय समितिका नेताका हातबाट सांसद पद त के कांग्रेस पार्टीको तर्फबाट अहिलेसम्म वार्ड अध्यक्ष पदको टिकटसम्म लिएको छैन। हामी खटेर पार्टी बनाउन लाग्ने तपाईहरुले हामीलाई जलाएर खरानी घस्न होडवाजी गरिरहनु भएको छ। बिशेष महाधिवेशनका लागि बक़ाइदा हस्ताक्षर गर्नुहोस, हस्ताक्षर गर्नै चाहनु हुंछ भने २४ गते भित्रै गर्नुहोस भंनेर पार्टी महामन्त्रीले आव्हान गर्ने हो ?
भाद्र २४ गते सम्म हस्ताक्षर नगरेकालाई के गर्नु हुन्छ ? हस्ताक्षर गराएर अलपत्र पार्नु भयो भने तपाईहरुलाई इतिहासले के पुरस्कार देला ? महामन्त्रीज्यू तपाईहरुलाई ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भोट हालेका थिए, आज तपाईहरूले आव्हान गरेर करकापमा पारेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मात्र हस्ताक्षर भयो, ति सबै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान छ तर तपाईहरूलाई भोट दिएका ९ प्रतिशत साथीहरूलें किन छाड़े ? तपाईहरूको मधुरबाणी सुन्न मेरा कान आतुर छन।
पार्टीको १५ औ महाधिवेशन कहिले गर्ने ? यो बैठक सके पछि सबै आ-आफ्नो जिल्लामा जाउँ। तिन चरणमा काम गरौं।
१) मंसीर १ गते देखि पुष १५ गते सम्म क्रियाशिल सदस्यता वितरण गरौं। प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यहरुको नामावली तयार गरौ ।उम्मेदवार दर्ताको तयारी पनि गरौं।
२) पौष १५ गते देखि फागुन २१ गतेसम्म प्रतिनिधिसभाको चुनावमा जुटौ ।
३) चैत्र महिनाभरि वार्ड तह देखि प्रदेश तहका सबै अधिवेशनहरु सम्पन्न गरौं ।
भ्रष्ट्राचार र कुशासनका विरुद्ध लड्ने, कलम र मसाल अङ्कित रक्त रञ्जित भण्डाको कसम खाएर २०८३ वैशाख ६ गते , नेविसंघको स्थापना दिवसको शुभ मुहुर्तमा पार्टीको १५ औं महाधिवेशन उद्घाटन गरौ।
अगाडिको बाटो र ऐतिहासिक अभिभारा
“नेपाली कांग्रेस: गौरवपूर्ण इतिहासको समीक्षा गरेर भविष्यको मार्गचित्र कोर्ने ” १४ औं महाधिवेशनबाट आएका शीर्ष नेतृत्वहरूलाई आत्मसमीक्षा र आत्मनिरीक्षण गर्न अनुरोध छ । आफ़नो पदीय हैसियतको औचित्य पार्टीभित्र पुष्टि गर्न चुनौती पनि दिन चाहन्छु । पार्टीको १४ औं महाधिवेशनले नेतृत्वमा अनुभवीलाई निरन्तरता मिल्यो। केन्द्रीय समितिमा दुईतिहाई बढ़ी पदाधिकारीहरू नयाँ युवा पुस्ताको आगमन भयो। तर, यी दुई जनादेशबीच सामञ्जस्यता कायम केबल भागबन्डामा केन्द्रित भयो त्यसैले पार्टीमा गम्भिर चुनौती देखियो। महाधिवेशनपछि पार्टी सत्ता सञ्चालन र गठबन्धन व्यवस्थापनमा बढी केन्द्रित भयो। आन्तरिक सुधारका प्रयासहरूले अपेक्षाकृत गति लिन सकेनन्।
केन्द्रीय समितिमा उठेका सुधारका एजेन्डाहरू, संस्थागत निर्णयहरू सचिवालय प्रमुख पार्टी महामन्त्रीहरूकातर्फ़ बाट कार्वान्वयन प्रक्रियामा लगिएन पूर्णतः समाहित भएनन्। गठबन्धन सरकारको कार्यसम्पादन, विशेषगरी सुशासन र जनजीविकामा, जनअपेक्षाअनुरूप हुन नसकेका कारण, अहिले पार्टी र आमजनताबीचको सम्बन्ध वितृष्णाको मोड़मा छ। पार्टीको नीति महाधिवेशन समेत नीतिगत स्पष्टता र भावी कार्यदिशा तय गर्न भन्दा गठबन्धन गर्ने, नगर्नेमा बित्यों। जनताको वलियो समर्थन प्राप्त गर्न जेन जी पुस्ताले उठाएका सुशासन, रोजगारी, पारदर्शिता र अवसरका मागहरूलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्छ। पुरानो अनुहार मात्र देख्दा उनीहरूमा राजनीतिक प्रक्रियाप्रति नैराश्यता बढ्न सक्छ। यो चासो कांग्रेसका लागि अवसर बन्न सक्छ। उनीहरूका माग स्मरण गर्दै, पार्टीको नीति निर्माणमा समावेश गर्दै, स्पष्ट मार्गचित्र प्रस्तुत गरेमा कांग्रेसले नयाँ पुस्ताको विश्वास जित्न सक्छ। आत्मसमीक्षा गरौं ।
(क) विधानले निर्दिष्ट गरेअनुसार काम भयो वा भएन?
(ख) केन्द्रीय समितिले तोकेको वा निर्दिष्ट गरेको जिम्मेवारी पूरा भयो वा भएन?
(ग) १४ औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचन लड्दा गरिएका व्यक्तिगत प्रतिबद्धताहरू के कति कार्यान्वयन भए?
(घ) पार्टीको घोषणापत्र ,सरकारमा रहँदा के कति कार्यान्वयन भए वा गराइए?
कांग्रेसको पुनर्जागरणका लागि (१) हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, (२) के–केलाई परिमार्जन गर्ने, (३) के–केलाई पूर्णतः निषेध गर्ने, त्यसको रोडम्याप हामीले दिन सक्नुपर्छ। आजको बिषय, अब के गर्ने?
पहिलो, सामूहिक जवाफदेहिता अपरिहार्य छ। चुनावमा गठबन्धन निर्णय गर्ने, टिकट बाँड्ने, ओली सरकार हुँदा संयन्त्रमा रहने सबैले अहिलेको अवस्थामा आएकोमा जिम्मा लिनुपर्छु भन्ने स्वीकारोक्ति आवश्यक छ। यो नैतिक शुद्धीकरणको पहिलो पाइला हो। पार्टीले सत्ताका लागि गरिएका अप्राकृतिक गठबन्धन, नातावादमा आधारित टिकट वितरण, र सिद्धान्तविपरीतका राजनीतिक सहकार्यले पुर्याएको चोटलाई सम्लग्न सबैले सामूहिक रूपमा स्वीकार गर्नुपर्छ।
दोस्रो, ‘कुलिङ अफ पिरियड’ को अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। एक पटकलाई वर्तमान पदाधिकारीहरू र पूर्व पदाधिकारी लगायत समानुपातिकबाट पद लिएका सबैले समानुपातिक तर्फ़को पद दिनु हुदैन। तीन पटक सांसद र दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भुमिका खेल्नु पर्छ। यसले नयाँ पुस्तालाई स्थान हस्तान्तरण गर्ने र योग्यता, क्षमता, नैतिकताको कसीमा खरो उत्रिएका, सार्वजनिक जीवनमा प्रश्न खडा नभएका र योगदानमा आधारित न्यायपूर्ण प्रणाली स्थापित गर्नेछ।यसले ुजेनजी पुस्ताको आन्दोलनले उठाएको मूल मर्मलाई पनि संस्थागत रूपमै सम्बोधन गर्छ। कांग्रेसलाई विचार, आदर्श र परिवर्तनको संवाहकको रूपमा पुनःस्थापित गर्नेछ। नयाँ पुस्तासँग टुटेको संवादको पुललाई फेरि जोड्ने एक मात्र विश्वसनीय आधार निर्माण गर्नेछ।हाम्रा उम्बेदवार जनताको बिचमा अनुहार देखाऊन सक्ने छन।
जयनेपाल !
किरणराज शर्मा पौडेल
केन्द्रीय सदस्य एवं प्रमुख जनसम्पर्क समिति समन्वय बिभाग




