आबुधाबी(संयुक्त अरब इमिरेट्स), ११ साउन । नेपाली जनसम्पर्क समिति युएईको आयोजनामा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बी.पी. कोइरालाको ४३औँ स्मृति दिवस उहाँको आदर्श र योगदानलाई सम्झँदै विशेष कार्यक्रमसाथ सम्पन्न भएको छ।
नेपाली जनसम्पर्क समिति युएईका संरक्षक तथा निवर्तमान सभापति खेमराज बस्नेतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एनआरएनएका नवनिर्वाचित उपाध्यक्ष मनोजकुमार श्रेष्ठ र मध्यपूर्व संयोजक रमेश श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठ र संयोजक श्रेष्ठलाई जनसम्पर्क समिति युएईले विशेष सम्मान गरेको थियो।
नेपालको लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुहुने ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेर आरम्भ गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गान बजाइएको थियो।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका उपसभापति अमर रानाभाटले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि र विशेष अतिथिहरुले महामानव बी.पी. कोइरालाको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले बी.पी. कोइरालाले नेपाली कांग्रेसको स्थापना गरी २००७ सालको जनक्रान्ति सुरु गरेर निरंकुश जहाँनिया राणा शासनलाई परास्त गरी नेपाललाई आधुनिक लोकतन्त्रको युगमा प्रवेश गराउनुभएको बताउनुभयो ।
बहुदलीय,संसदीय,लोकतान्त्रिक शासन पद्धतिमार्फत देशको आर्थिक र सामाजिक विकासको लागि काम गर्न मन,वचन र कर्मले समर्पित महामानव बीपी कोइरालाको सरकारले डेढ बर्षमा गरेको कामको उल्लेख गर्दा अझै पनि समस्त कांग्रेसजनलाई गर्वको अनुभूति हुने उहाँले बताउनुभयो ।
उहाँले बीपीले अबलम्बन गर्नुभएको नीतिबाटै नेपालको आर्थिक र सामाजिक विकास संभव हुने उल्लेख गर्नुभयो ।उहाँले बीपीका आदर्श,सिद्धान्त र विचार सधैभरि सबैका लागि उत्तिकै उपयोगी रहने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारीहरूसहित विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




