काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरुसंग भर्चुअल बैठक सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको सभापतित्वमा बिहिवार साँझ भएको बैठकमा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरुलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाको अवगत गराउने र भदौ २३ को जेन जी प्रदर्शन तथा भदौ २४ को विध्वंशकारी घटना र सो कालो दिवसमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, जिल्लास्थित कार्यालयहरु, नेपाली कांग्रेस सभापतिसहित केन्द्रीय कार्य समितिमा सदस्य र जिल्ला तहका नेताहरुको निजी निवासमा भएको आगजनी, तोडफोड र क्षतिको बारेमा अवगत गराउनुका साथै पुननिर्माण प्रक्रियाको थालनीका बारेमा जानकारी गराउने तथा उपयुक्त राय सुझाव ग्रहण गर्ने उद्देश्यले सो भर्चुअल बैठक आयोजना गरिएको थियो ।
बैठकमा प्रमुख अतिथि, सहभागी विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष र विभागका सदस्यहरुलाई स्वागत गर्दै विभागका प्रमुख पौडेलले जेन जी आन्दोलनका क्रममा विध्वंशकारीहरुद्धारा भाद्र २४ गते पार्टीको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयहरुमा आगजनी र तोडफोड गरी क्षतिग्रस्त बनाइएको बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु देउवा राणाउपर सांघातिक आक्रमण गरी उहाँहरुको निजी निवास जलाइएको घट्नाको निन्दा गर्दै सभापति दम्पत्तिको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । सभापति दम्पत्ति अहिले स्वास्थ्योपचारको लागि सिंगापुरमा हुनुहुन्छ ।
विभाग प्रमुख पौडेलले देशमा निर्वाचनको घोषणा भएको र पार्टीको नियमित महाधिवेशनको लागि पनि सबै खालको तयारी गर्न पार्टी कार्यालयको पुनर्निमाण अपरिहार्य रहेको बताउनुभयो । उहाँले विगतमा पार्टीको नयाँ भवन निर्माण गर्दा, देशमा भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक र कोरोना जस्ता महामारीजन्य विपद् आइपर्दा विदेशमा रहनुभएका जनसम्पर्क समितिका साथीहरुबाट सहृदयतापूवर्क सहयोग प्राप्त भएको प्रसंग उठाउनुभएको थियो । उहाँले नेपाली कांग्रेसका सबै कार्यकर्ताको पसिनाको कमाई संकलन गरेर बनेको केन्द्रीय कार्यालय र जिल्ला जिल्लाका साथीहरुले कार्यकर्ताहरुसंग चन्दा संकलन गरेर बनाएको पार्टी कार्यालयहरु पुनःनिर्माणको लागि पार्टीले कोषाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले आफू कोषाध्यक्ष भएर आएपछि पार्टीको केन्द्रीय कार्यालयको व्यवस्थापनमा निकै सुधार गरेको जानकारी दिंदै भदौ २४ को विध्वंशकारी घटनामा भएको आगजनी र तोेडफोडले हालसम्म गरिएको भौतिक सुधार खरानी भएको र पार्टी खण्डहर बन्न पुगेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस ऊर्जावान कार्यकर्ताहरुको पार्टी भएकोले यसलाई उठाएर विगतमा जस्तै देश हाँक्ने बनाउन सबैले मन, वचन र कर्मले सहयोग गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले पार्टीमा प्राप्त हरेक सहयोगको अभिलेख राखिने, आर्थिक सहयोग गर्नेहरुको कदर पनि गरिने बताउनुभयो । उहाँले मेरो कांग्रेस म आफैं बनाउँछु भन्ने भावनाले प्रेरित भएर सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
भर्चुअल बैठकमा नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनी, जनसम्पर्क समिति नेदर ल्याण्ड्सका अध्यक्ष शालिक गौतम, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुड., जनसम्पर्क समिति डेनमार्कमा अध्यक्ष यादव बस्नेत, जनसम्पर्क समिति जापानका अध्यक्ष रोशन केसी, जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, जनसम्पर्क समिति कोरियाका अध्यक्ष भाजिन्द्र क्षेत्री, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, जनसम्पर्क समिति चीनका अध्यक्ष सुरेश कोइराला, जनसम्पर्क समिति युएईका अध्यक्ष भुवानी तिमिल्सिना, जनसम्पर्क समिति बहराइनका पद्मसुन्दर गुरुड., जनसम्पर्क समिति नर्वेका अध्यक्ष पारसमणि मिश्र, जनसम्पर्क समिति साउदी अरबका अध्यक्ष अर्जुनबहादुर थापा, नेपाली जनसम्पर्क समिति मकाउकी अध्यक्ष निर्मला थापा, जनसम्पर्क समिति जापान र बेल्जियमका पूर्वअध्यक्षहरु महेश श्रेष्ठ र गंगाधर गौतमले सक्रिय सहभागिता जनाउँदै उपयोगी सुझावहरु दिनुभएको थियो ।
देशमा राजनीतिक तथा संवैधानिक अन्योल भएको बेलामा विदेशमा रहनुभएका साथीहरुले दिनुभएको अमूल्य सुझाबसहित पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरु पुनःनिर्माण अभियानमा सक्दो योगदान गर्दै मन,वचन र कर्मले जोडिन प्रतिबद्धता व्यक्त गर्नुभएका बैठकका सबै सहभागीहरुलाई विभागका सदस्य प्रकाश अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।




