चेन्नाई(तामिलनाडु, भारत), १९ साउन । नेपाली जनसम्पर्क समिति भारत अन्तरगतको दक्षिण भारत क्षेत्रीय समितिले यस बर्षको तीज भव्य रुपमा मनाउने तयारी गरेको छ ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार यही साउन १८मा बसेको दक्षिण भारत अन्तर्गत चेन्नाई(मद्रास)स्थित शाखा समितिहरूको संयुक्त बैठकमा यससम्बन्धी निर्णय गरिएको छ ।
बैठकमा दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत रहेका सम्पूर्ण शाखा समितिहरूलाई आउदो तीजलाई भव्य रुपमा मनाउन आग्रह गरिएको थियो । नेपाली समुदायमा हरितालिका तीज पर्वको सांस्कृतिक गरिमा उच्च रहनुका साथै नेपाली हिन्दु नारीहरुको स्वतन्त्र धार्मिक पहिचानका साथै गायन र नृत्यको उत्सवको रुपमा लिइने यस पर्वमा आआफ्ना समितिका क्षेत्रभित्र रहनुहुने सबै नेपाली महिलाहरुलाई समेटेर तीज कार्यक्रम भव्य बनाउन आग्रह गरिएको थियो ।
नेपाली संस्कृतिको जगेर्ना र विस्तारका साथै महिला नेतृत्व क्षमताको विकास, शाखा तथा क्षेत्रीय समितिहरूबीच सुमधुर र बलियो सम्बन्ध विकसित गर्दै संगठनलाई मजबूत बनाउने र नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई नागरिक स्तरमा मजबुत बनाउने उद्देश्यले तर्जुमा गरिएको बताइएको छ । ।
बैठकमा प्रवासमा पनि हरितालिका तीज पर्वको मौलिकता र मर्यादा कायम राख्ने,नेपाली नारीहरुको सांस्कृति पर्वको संरक्षण, प्रवर्द्धन, र विस्तार गर्ने,स्थानीय स्तरमा सांगीतिक, भजन, नृत्य र मौलिक प्रस्तुतिहरूलाई समावेश गर्ने, सांस्कृतिक कार्यक्रममार्फत प्रवासी नेपालीको हक–हितको संरक्षण गर्ने,आपतकालीन राहत तथा सहयोग संयन्त्रको स्थापना गर्ने, प्रवासी नेपालीहरूको तथ्याङ्क संकलन गर्ने,अधिकाधिक प्रवासीलाई संगठनमा समेट्ने, स्थानीय प्रशासन, गैर–सरकारी निकाय र वाणिज्य दूतावाससँग सहकार्य गर्दै नेपाल-भारत सम्बन्ध सुदृढीकरण गर्ने, सांस्कृतिक कूटनीतिको माध्यमबाट जनस्तरको सम्बन्ध विस्तार गर्ने,भारतका सामाजिक समूहहरूसँग साझा सांस्कृतिक संवाद बढाउने,नेपाली चाडपर्व भारतीय सामाजिक परिवेशसँग तादात्म्य राखी प्रस्तुत गर्ने विषयमा गहन छलफल भएको थियो ।
बैठकमा दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा त्यस अन्तरगतका सबै शाखा र समितिहरुलाई समेटेर तीज कार्यक्रम भव्य रुपमा आयोजना गरी विवादरहित ढंगल सम्पन्न गराउन महिला नेतृत्वमा आयोजक समिति गठन, कार्यक्रम सञ्चालनका लागि विभिन्न उपसमिति (मञ्च, सांस्कृतिक प्रस्तुति, आतिथ्य आदि) गठन, सबै शाखाबाट न्यूनतम सहभागिता सुनिश्चित, डिजिटल प्रचार–प्रसार, निमन्त्रणा पत्र र मिडिया समन्वय योजनाका बारेमा पनि व्यापक छलफल भएको थियो ।
बैठकले यथाशीघ्र दोस्रो बैठकमा कार्यक्रमको मिति, स्थान र हल फाइनल गर्ने, उपसमितिहरूलाई जिम्मेवारीसहित कार्यविभाजन गरिदिने, उपसमितिहरुलाई कार्यक्रम समयतालीका बनाएर सम्पन्न गर्न लगाउने, जनसम्पर्क भारतको केन्द्रीय र दक्षिण क्षेत्रीय समितिको कार्यालयमार्फत कार्यक्रमको समन्वय र निगरानी गर्ने, तीज कार्यक्रम सम्पन्न भएपश्चात औपचारिक प्रतिवेदन पेश गर्ने सम्बन्धमा निर्णय लिएको छ ।
नेपाल बाहिर सबैभन्दा बढी नेपाली रहेको छिमेकी राष्ट्र भारतमा रहेका नेपालीहरुलाई संगठित गर्दै एकापसमा समन्वय गर्ने, उनीहरुको हकहितका कार्यक्रम सञ्चालन गर्ने,नेपाली संस्कृति,रीतिरिवाज र चाडपर्वहरु मार्फत नेपाली समुदायमा एकता कायम गर्ने, नेपाली पनको जगेर्ना गर्ने, नेपाली माटोसंग नेपालीहरुलाई जोडेर राख्ने तथा नेपालीहरुलाई नेपाली कांग्रेससंग अभिन्न रुपमा आबद्ध गराई राख्ने काम नेपाली जनसम्पर्क समिति भारतले गर्दै आएको छ ।
नेपाली जनसम्पर्क समिति भारतले तीज पर्व मनाउने तयारी बैठकका माध्यमबाट दक्षिण भारतका सबै शाखा र क्षेत्रीय समितिबीच आपसी समझदारी बलियो बनेको,कार्यक्रमका लागि कार्ययोजना बनेको,महिला सदस्यहरू अग्रपंक्तिमा रहेर आफै नेतृत्व लिएको र कार्यकर्ताहरूमा उच्च मनोबल र संगठनप्रतिको निष्ठा देखिएको जानकारी दिएको छ ।
.
‘नेपाली जनसम्पर्क समिति जनजनमा, मनमनमा, भारतका सहर–सहरमा’ भन्ने नारालाई आत्मसात गर्दै, दक्षिण भारतमा सम्पन्न यो समन्वय बैठकले संगठनको कार्यशैली, एकता, नेतृत्व र दिगो दृष्टिकोणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको अध्यक्ष पाण्डेले बताउनुभएको छ।
उहाँले यो बैठकले भारतस्थित प्रवासी नेपाली समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि, संगठनको विश्वसनीयता, र महिला नेतृत्वको सशक्त उपस्थितिलाई मजबुत बनाएको बताउनुभएको छ।
बैठकमा दक्षिण भारत क्षेत्रका विभिन्न शाखा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । जसमा केन्द्रीय शिक्षा सचिव काशीराम आचार्य, क्षेत्रीय वरिष्ठ उपाध्यक्ष गंगाराम आचार्य, क्षेत्रीय सांस्कृतिक सचिव सुमित्रा पराजुली,अनुशासन समिति सदस्य मेघराज आचार्य, पूर्वी शाखा अध्यक्ष विष्णु पौडेल , पूर्वी विशाखा अध्यक्ष नारायण पौडेल, टी नगर शाखा अध्यक्ष नारायण आचार्य, कोटिबाकुम शाखा अध्यक्ष गौतम गोविन्द, पूर्वी शाखा सहसचिव नारायण ढुङ्गाना, कोटिबाकुम शाखा सचिव सुशीला गौतम ,पूर्वी विशाखा सचिव राजु थापा, पूर्वी शाखा उपाध्यक्ष बाबुराम आचार्य,कार्यवाहक सचिव पवन तिवारी र सदस्यहरु इन्द्रकला आचार्य, रामचन्द्र शर्मा, गोविन्द,गीता गौतम, मिना थापा र रामप्रसाद चालिसे हुुनुहुन्थ्यो ।
बैठकमा अन्य शाखा समितिहरूका अध्यक्ष, सचिव, कोषाध्यक्ष, महिला तथा युवा सदस्यहरूको पनि सक्रिय उपस्थिति रहेको थियो ।
भारतमा नेपाली जनसम्पर्क समितका ७ क्षेत्रीय समितिहरू र ३ सय १० शाखाहरू रहेका छन् । जनसम्पर्क समिति भारतले सबै समिति र शाखाहरुलाई तीज कार्यक्रम भव्य रुपमा मनाउन पत्राचार गरिसकेको जानकारी अध्यक्ष बालकृष्ण पाण्डेले दिनुभएको छ । नेपाली जनसम्पर्क समितिको स्वर्ण महोत्सव बर्ष भएकोले भारतमा यस बर्ष विशेष कार्यक्रमहरु सञ्चालन हुँदै छन् । नेपाली जनसम्पर्क समितिको स्थापना ५० बर्ष अगाडि नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालाको अग्रसरता र उपस्थितिमा मुम्बईमा भएको थियो ।




