जबलपुर(मध्यप्रदेश,भारत), १४ साउन । नेपाली जनसम्पर्क समिति भारतको मध्यप्रदेशस्थित जबलपुर महिला शाखाले नेपाली चाडपर्वको अवसर पारेर यही जुलाई २७ तद्अनुसार साउन ११ मा तीज बिशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
नपाली जनसम्पर्क समिति जबलपुर महिला शाखाकी अध्यक्ष विनिता क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुमित्रा थापाले उपस्थिति जनाउनुभएको थियो।
राष्ट्रगान र दीप प्रज्वलनबाट आरम्भ भएको कार्यक्रमलाई तीन शत्रमा विभाजन गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले नेपाली कांग्रेसले अंगीकार गरेको नीतिले नेपालको आर्थिक र सामाजिक विकास भइरहेको बताउँदै कांग्रेसका पक्षमा जनमत बनाउन सदैव कटिबद्ध रहनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमकी अध्यक्ष एवम् जबलपुर महिला शाखाकी अध्यक्ष विनिता क्षेत्रीले भारतमा रहनुभएका नेपाली महिला दिदीबहिनीहरुबीच आपसी सद्भाव अभिबृद्धि गराउँदै नेपाली संस्कृतिको जगेर्ना गर्ने र नेपाली कांग्रेसको आदर्श र सिद्धान्त अनुरुप महिला नेतृत्व विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसले लिएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त र उदारवादी नीतिबाटै सम्पूर्ण जनताको हित र मुलुकको समृद्धि हासिल हुने बताउनुभयो ।उहाँले नेपालमा लोकतन्त्रको पुनस्थापना र गणतन्त्रको उदय भएपछि महिलाहरुको अवस्थामा निकै ठूलो परिवर्तन आएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अर्को सत्रमा सहभागीबीच अन्तर्क्रिया तथा भोज कार्यक्रम राखिएको थियो । यस सत्रमा सहभागीहरूबीच आपसी चिनजान र अनुभव आदानप्रदान गरिएको थियो । यसै सत्रमा दिदीबहिनीहरुले एकापसमा विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि खेलेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई दाल–भात–तरकारी, अचार, सेलरोटी र खीरको सादा भोजनको व्यवस्था पनि गरिएको थियो ।
कार्यक्रमको अर्को सत्रमा सबैको सहभागितामा मनोरञ्जन कार्यक्रम राखिएको थियो । प्रवासमा रहेर पनि नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नेपालीहरुबीच एकताको भावना विकसित गराउने उद्देश्यले आयोजित सो कार्यक्रमको सांस्कृतिक सत्रमा महिला समूहले नेपालका विभिन्न भेगका लोकगीत र लोकधुनमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाद्वारा देशभक्ति कविता वाचन, भजन गायन र लघुनाटिका प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाली भेषभूषा प्रतियोगिता पनि गरिएको थियो । जहाँ सहभागी महिलाहरूले परम्परागत पहिरनमा प्रस्तुति दिएका थिए ।
प्रवासमा नेपाली चाडपर्वहरूको संरक्षण, प्रवर्द्धन र विस्तार गर्ने, महिला सहभागिता अभिबृद्धि गर्ने, महिला नेतृत्व विकास गर्ने,नेपाली समुदायबीच आपसी समन्वय र सहकार्यको संस्कृतिक विकास गर्ने र प्रवासमा नेपालीपनको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता अभिबृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । सम्पूर्ण कार्यक्रमको सञ्चालन अत्यन्त व्यवस्थित ढंगले विष्णु शर्माले गर्नुभएको थियो ।
नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय कार्यसमितिले भारतभर क्रियाशील ३ सय १० शाखाहरूलाई नेपाली चाडपर्वहरूको संरक्षण र प्रवर्धन गर्न आ–आफ्नो क्षेत्रगत कार्यक्रम आयोजना गर्न निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार जबलपुर महिला शाखाले यो कार्यक्रम आयोजना गरेको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनु भएको छ ।
आयोजक नेपाली जनसम्पर्क समिति जबलपुर महिला शाखाकी अध्यक्ष बिनिता क्षेत्रीले महिलाहरूको नेतृत्वमा आयोजना गरिएको कार्यक्रम अत्यन्तै सफल रहेको बताउनुभएको छ । उहाँले कार्यक्रममा सांस्कृतिक विविधता र एकताको सुन्दर समायोजन देखिएको र यसले मध्य प्रदेशमा रहेका नेपाली समुदायमा आत्मीयता, गर्व र सहभागिताको भावना बलियो बनाउन सघाएको प्रतिक्रिया दिनुभएको छ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जबलपुर महिला शाखाद्वारा आयोजित चाडपर्व विशेष कार्यक्रमले प्रवासी नेपाली महिलाहरूको नेतृत्व, सृजनशीलता र समर्पणलाई उजागर गरेको बताउनुभयो। उहाँले नेपाली संस्कृति, परम्परा र एकताको सन्देश दिन सफल भएको यो कार्यक्रम आगामी दिनमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढाउन प्रेरणास्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक जनसम्पर्क समिति जबलपुर महिला शाखाले यस्ता कार्यक्रमहरुलाई आगामी वर्षहरूमा अझ व्यापक रूपमा आयोजना गर्न,पुरुष, युवा, बालबालिका सबैको समावेशी सहभागिता सुनिश्चित गर्न र नेपाली लोककला, भेषभूषा र भाषाको समुचित प्रचार–प्रसार हुने ढंगले सञ्चालन गर्न सुझाव दिएको छ ।




