नयाँदिल्ली(भारत), ६ साउन । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको आयोजनामा नेपाली कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद (बी.पी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्र मन्त्री सांसद नारायणप्रसाद साउद सहभागी हुनुभयो। विशेष अतिथि रूपमा पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह तथा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि र विशेष अतिथिहरुले कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालाको सक्रिय र उपस्थितिमा भारतमा स्थापना भएको नेपाली जनसम्पर्क समिति ५० बर्ष पुगेको उपलक्ष्यमा भारतमा आयोजित कार्यक्रममा सहभागी हुनपाउनु सौभाग्य भएको बताउनुभयो । उहाँहरुले नेपाली कांग्रेस जनसम्पर्क समिति स्थापनाको ५० औं बर्षलाई पार्टीले स्वर्ण महोत्सव वर्षको रुपमा मनाउने निर्णय गरेको बताउदै यस बर्ष भारतमा बर्षैभरि कार्यक्रम आयोजना हुनुपर्ने बताउनुभयो ।
वृक्षारोपण कार्यक्रमः हरियालीप्रति योगदान
बी.पी. स्मृति दिवसको अवसरमा जनसम्पर्क समिति उत्तर भारतले दिल्लीस्थित सञ्जय पार्क झिलमिल क्षेत्रमा वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यले वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तरगत पीपल, समी, नीम, बर लगायतका विभिन्न वृक्षहरूको रोपण गरिएको थियो। सहभागीहरूले हरियाली संरक्षण र वातावरणीय सचेतनामा सक्रिय भूमिका निर्वाह गरेका थिए।
अन्तरक्रिया कार्यक्रमः बी.पी. कोइरालाको विचारमा संवाद
बी.पी. कोइराला स्मृति दिवसको अवसरमा जनसम्पर्क उत्तर भारतले बी.पी. को जीवन, विचार र योगदानमाथि केन्द्रित रही लाजपत नगर दिल्लीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लोकतन्त्र, समाजवाद, मानव अधिकार र प्रवासी नेपालीको भूमिकाबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता समिति उत्तर भारत क्षेत्रकी अध्यक्ष नन्दी कुमारी न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन दयाराम रोकाले गर्नुभएको थियो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कृष्ण पाण्डे, कोषाध्यक्ष जनक गिरी अनुशासन विभाग प्रमुख टेकराज पोखरेल, केन्द्रीय सदस्य सीता अधिकारी क्षेत्रीय उपाध्यक्ष नरहरि घिमिरे क्षेत्रीय कोषाध्यक्ष बाबुराम अधिकारी, संगठन सचिव झबिलाल अधिकारी सल्लाहकारहरु सिबलाल, रजुनाथ पाण्डे र इन्दिरा पाण्डे , विद्यार्थी प्रतिनिधि पूजा पाण्डे, सहमहामन्त्री नेपाल विद्यार्थी संघ, विदेश क्षेत्रसहित नेपाली जनसम्पर्क समिति भारत तथा उत्तर भारत क्षेत्रका विभिन्न तहका नेताहरू र पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाली कार्यक्रममार्फत नेपाली जनसम्पर्क समिति उत्तर भारतले महामानव बी.पी. कोइरालाको विचारलाई स्मरण गर्दै प्रवासी नेपालीहरूबीच लोकतान्त्रिक चेतना, सामाजिक दायित्व र वातावरणीय उत्तरदायित्वको भावना सुदृढ गर्ने प्रयास गरेको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समितिले दोहोर्याएको छ।




