तेलअभिभ(इजरायल), १३ साउन । नेपाली जनसम्पर्क समिति इजरायलले २७ जुलाई तद्अनुसार ११ साउनमा आफ्नो नवौं स्थापना दिवस र ४३ औं बी.पी. स्मृति दिवस भव्य रुपमा मनाएको छ ।
जनसम्पर्क समितिका कार्यबाहक सभापति नितु कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा निवर्तमान सभापति खगेश्वर अधिकारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।
सो अवसरमा वक्ताहरुले नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको दूरदर्शी नेतृत्वको कारण नेपाल र इजरायलको सम्बन्ध सुमधुर बनेको बताउनुभयो ।
बी.पी.कोइरालाले आफ्नो १८ महिने कार्यकालमा इजरायलसंग कुटनीतिक सम्बन्ध कायम गर्नुभएको थियो । दक्षिण एशियामा इजरायललाई मान्यता दिने पहिलो राष्ट्रको रुपमा नेपाललाई इजरायलले सधैभरी उच्च प्राथमिकतामा राख्ने गरेको छ ।
आधुनिक कृषि र यान्त्रिक प्रविधिका क्षेत्रमा अग्रणी मानिने इजरायलमा घरेलु कामदार,कृषि कामदार र प्राविधिक विषयको अध्ययन र अवलोकन तथा अल्पकालीन तथा मध्यकालीन तालिमहरुबाट नेपालीहरुले फाइदा लिन पाएका छन् ।
नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा वक्ताहरुले महामानव बी.पी.कोइरालाको अग्रसरता र उपस्थितिमा भारतको मुम्बईमा ५० बर्ष अगाडि स्थापना भएको नेपाली जनसम्पर्क समितिको इतिहासको पनि चर्चा गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले बी.पी.कोइरालाको दूरदर्शिताले जनसम्पर्क समितिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन विश्वसामु परिचित हुन सहयोग पुगेको, विदेशमा रहेका नेपालीहरु संगठित भएर आर्थिक,सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय हुने अवसर प्राप्त भएको र स्वदेशबाट टाढा रहेका नेपालीहरुलाई पार्टीको आदर्श,सिद्धान्त र मूल्य मान्यता कायम राख्दै जन्मभूमिसंग जोडिने अवसर प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा वी.पी.कोइरालाको तस्विरमा माल्यार्पण गर्नुका साथै ४३ औं वी.पी.स्मृतिको पनि चर्चा गरिएको थियो ।
जनसम्पर्क समितिको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा इजरायलमा रहनुभएका राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति थियो।




