न्युयोर्क(संयुक्त राज्य अमेरिका), ३ असोज । नेपालमा संविधानसभाबाट संविधान जारी भएको एक दशक पुगेको अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले संविधानको रक्षा र राष्ट्रिय एकताको आह्वान गर्दै एक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाका अध्यक्ष आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपालमा जेनजी आन्दोलनका आडमा संविधानमाथि प्रहार गर्ने कुचेष्टा गरिएकोमा चिन्ता व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले अभिव्यक्तिको माध्यमका रुपमा स्थापित भएका सामाजिक सञ्जालका प्लेटफर्महरुमा निर्वाध पहुँच, भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन र प्रशासन जस्ता जायज माग लिएर आएको जेनजीको आन्दोलनलाई सम्हाल्ने कला नजान्दा देशले ठूलो क्षति ब्यहोर्नु परेको बताउनुभयो । उहाँले यो आन्दोलनलाई भड्काएर संविधानमाथि भइरहेको प्रहारबाट सबै लोकतन्त्रवादी चिन्तित हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले जेनजी प्रदर्शन भड्काएपछि भाद्र २४ गते नेपाली सुनियोजित रुपमा देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख भवनहरु, केन्द्रदेखि जिल्ला र पालिकासम्मका सरकारी कार्यालय भवनहरुका साथै यो संविधानका पक्षधर नेपाली कांग्रेस, एमाले र माओवादी पार्टीका कार्यालय र नेताहरुको निजी निवासमा भएको आक्रमणको निन्दा पनि गर्नुभयो । कार्यक्रमका सहभागीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तात्कालीन परराष्ट्रमन्त्री डा. आरजु देउवामाथि भएको सांघातिक हमलाको भत्र्सना गर्दै उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्टले नेपाली जनताको प्रत्यक्ष सहभागितामा जननिर्वाचित संविधानसभाले बनाएर जारी गरेको संविधानको रक्षा र यसको मर्म बमोजिम काम गर्नु प्रत्येक नेपाली नागरिकको कर्तव्य भएको बताउनुभयो। उहाँले संविधान दिवस एवं राष्ट्रिय एकता दिवसको सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरुले संविधानको रक्षा गरौं, राष्ट्रिय एकता कायम गरौं भन्ने नारासहितका प्लेकार्ड, पोष्टर र नेपालको संविधान प्रदर्शन गर्नुभएको थियो ।




