सानेपा(ललितपुर), १७ कार्तिक । नेपाली कांग्रेसले जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनको मौका छोपी भाद्र २४ गते कर्फ्यू घोषणा भएको समयमा विध्वंशकारी समूहद्धारा तोडफोड र आगजनी गरी क्षतिग्रस्त बनाइएको ललितपुर सानेपा, बीपी नगरस्थित केन्द्रीय कार्यालय पुनःनिर्माण र मर्मत संभारका लागि विदेशस्थित जनसम्पर्क समितिहरुलाई आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेल र पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले संयुक्त हस्ताक्षर गरी सोमबार सबै जनसम्पर्क समितिहरुलाई सहयोग गर्न पत्राचार गर्नुभएको छ ।
पार्टीले पठाएको पत्रमा २०८२ भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा युवाहरूले सहादत प्राप्त गर्नुका साथै खर्बौको सम्पत्तिको क्षति हुनु नेपालको इतिहासमै अत्यन्तै दुःखद र अल्कपनीय घटनाको रूपमा रहेको उल्लेख गरिएको छ । पत्रमा जेनजी पुस्ताको भावना विपरीत अवाञ्छित घुसपैठका कारण भाद्र २४ गते राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सरकारका कार्यालयहरू, सुरक्षा निकायका कार्यालयहरू, ऐतिहासिक संरचनाहरू, राजनैतिक दलका विभिन्न कार्यालयहरू, सार्वजनिक, निजी एवं व्यवसायिक प्रतिष्ठानहरू आक्रमण, तोडफोड, लुटपाट र आगजनीबाट ध्वस्त भएको व्यहोरा उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ, “उक्त घटनामा हाम्रो आस्थाको केन्द्र नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पनि घुसपैठियाहरूको आक्रमण, तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भई खण्डहर बनेको छ। यसैगरी देशभरका ४८ जिल्लामा रहेका पार्टीका कार्यालयहरूमा पनि तोडफोड र आगजनीका घटनाहरू भएका छन् ।”
पत्रमा यसको जानकारी विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न संचार माध्यम र सामाजिक सञ्जाल मार्फत् भइसकेको स्मरण गराइएको छ ।
पार्टीले देशमा अप्रत्यासित रुपमा आईपरेको संवैधानिक, राजनीतिक र पार्टीको अवस्थालाई कमजोर पार्ने ढंगले भएको विध्वंसात्मक आक्रमणलाई कठिन र संवेदनशील अवस्थाको रुपमा परिभाषित गर्दै यो समयमा पार्टीप्रति प्रतिबद्ध र आस्थावान सबैले उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिवद्धताका साथ अघि वढ्न अत्यावश्यक भएको जनाएको छ । पत्रमा भनिएको छ, “पार्टीको केन्द्रीय कार्यालयको पुनर्निर्माण कार्यलाई तीव्र गतिमा सम्पन्न गर्दै आगामी केन्द्रीय महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारीमा केन्द्रीत रहनु हाम्रो सामूहिक जिम्मेवारी हो ।”
यस्तो चुनौतिपूर्ण र कठिन परिस्थितिमा नेपाली कांग्रेसको भवन पुनर्निर्माण गर्ने संकल्प पार्टीले लिएको उल्लेख गर्दै पत्रमा भनिएको छ, “यो महत्वपूर्ण कार्यमा सबैको अपनत्व, सहकार्य र आर्थिक सहयोग अपरिहार्य छ । त्यसैले, नेपाली कांग्रेस केन्द्रीय कार्यालय र सम्बन्धित संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक वित्तिय स्रोत संकलन अभियान शुरू गरिएको छ।”
पत्रमा थप अगाडि भनिएको छ, “नेपाली जनसम्पर्क समिति समन्वय विभागको संयोजनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट नेपाली कांग्रेसका प्रत्येक क्रियाशील सदस्य र जनसम्पर्क समितिका सदस्यहरूबाट भवन पुनर्निर्माण प्रयोजनार्थ एक पटकका लागि क्रियाशील सदस्यता नवीकरण शुल्क बराबरको न्यूनतम रकम र शुभेच्छुकहरूबाट आर्थिक सहयोग, आत्मिय सहभागिता र सशक्त समर्थनको अपेक्षा गरेका छौं, जसले हाम्रो संकल्पलाई मूर्त रूप दिनेछ भन्ने पार्टीले विश्वास लिएको छ।”
पत्रमा भनिएको छ, “नेपाली जनसम्पर्क समितिको अध्यक्षको संयोजकत्वमा ५ (पाँच) सदस्यीय समिति गठन गरी सहयोग संकलन गर्न र संकलित रकम पार्टी केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न वा यसैसाथ संलग्न पार्टीको क्युआरकोड मार्फत पठाउन अनुरोध गर्दछौं। तपाईहरूबाट प्राप्त हुने सहयोग रकमको पारदर्र्शी तरिकाले अभिलेख राखिनेछ र त्यसको पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालय मार्फत् सार्वजनिक गरिनेछ ।”
पार्टीले सबैको सहयोगमा पार्टी कार्यालय पुननिर्माण गरी नेपाली कांग्रेसलाई देशको सबैभन्दा ठूलो, सर्वाधिक लोकप्रिय, बहुमतको सरकार बनाउन सक्षम बनाउने विश्वास लिएको उल्लेख गर्दै पत्रमा भनिएको छ, “तपाईहरूको आत्मीय सहभागिता, सहयोग र ऐक्यवद्धताबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालय चाडै पुनः निर्मित हुनेछ र हाम्रो साझा संकल्पलाई मूर्त रूप दिनेछ ।”
पत्रमा पार्टी र लोकतन्त्रका पक्षमा अग्रसर रहनु हुने सबै साथीहरूमा हार्दिक आभार व्यक्त गर्दै सम्पर्क समितिहरुमार्फत संकलित रकम पठाउने बैंकको नाम र खाता नम्बर पनि संलग्न गरिएको छ । यस्तो रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा प्राईम कमर्सियल बैंकमा खोलिएको चल्ती खाता नं ००५०१००००००१४५९००१६० मा पठाउन अनुरोध गरिएको छ।




