रियाद(साउदी अरब), २६ भाद्र । नेपाली जनसम्पर्क समिति साउदी अरबले जेनजी पुस्तालाई अगाडि सारेर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिलाई असफल बनाउन खोजिएको आशंक गर्दै नेपालमा संवैधानिक प्रक्रिया सुचारु गराउन संयुक्त राष्ट्रसंघ र नेपालका हितैसी अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको छ ।
नेपाली जनसम्पर्क समिति साउदी अरबका अध्यक्ष तुसड.(अर्जुनबहादुर थापा)ले भाद्र २५ गते बुधबार तद्अनुसार सेप्टेम्बर १० मा एक विज्ञप्ति प्रकाशित गर्दै सो अनुरोध गर्नुभएको हो ।
उहाँले जेनजी पुस्ताको नाममा विगत दुई दिनदेखि यता नेपालमा भैरहेको अराजक घटनाप्रति अत्यन्त दुःख व्यक्त गर्दै भन्नुभएको छ, हिंसा हाम्रा लागि पूर्ण रुपमा अस्वीकार्य छ। हिंसा समस्याको समाधान होइन।
सोमवार भएको घटनामा निर्दोष युवाहरुको मृत्युपछि सो प्रकरणको जिम्मेवारी लिंदै सरकारप्रमुखले राजिनामा दिएपछि अर्को सरकार गठनको प्रक्रिया अवरुद्ध गरेर देशभर अराजकता सिर्जना गर्न खोजिएको संकेत गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो पार्टीका श्रद्धेय सभापति शेरबहादुर देउवाज्यू र नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री माननीय ड आरजू राणा देउवाज्यूलाई ज्यान लिने उद्देश्यसहित क्रुर तथा अमानवीय सांघातिक हमलाको घोर भत्सर्ना गर्दछौ । साथै नेपाली कांंग्रेसका अन्य नेतागणमाथि व्यक्तिगत रुपमा भौतिक आक्रमण गर्ने, निजी एवं सरकारी सम्पति तोडफोड गर्ने, ऐतिहासिक एवं सार्वजनिक राष्ट्रिय सम्पदामा आगजनी गर्नेजस्तो अराजक र अक्षम्य गतिविधि भएको छ, त्यसको हामी कडा निन्दा गर्दछौं।”
उहाँले नेपाली कांग्रेस सदैव लोकतन्त्र, लोकतान्त्रिक विधि,कानुनी शासन र वैयक्तिक सम्पतिको सुरक्षाको प्रत्याभूतिका पक्षमा रहेको उल्लेख गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि जनताको अधिकारको पक्षमा लडेको छ र मुलुकमा भएका हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको छ।”
यस्तो पृष्ठभूमिमा आज लोकतान्त्रिक संरचनामाथि नै प्रहार गर्ने, आजीवन व्यक्तिको अधिकार र लोकतन्त्रको पक्षमा निरन्तर लडिरहनु भएका हाम्रो पार्टीका सभापतिमाथि नै निजी निवासमा प्रवेश गरी भौतिक आक्रमण गर्ने र निजी सम्पतिमाथि आगजनी गर्ने जुन हर्कत भएको छ, त्यसको जतिसुकै भर्त्सना गरे पनि कम नै हुन्छ। हामी यस किसिमको सबैखाले घटनाको निन्दा गर्दछौं,जुन स्वीकार्य छैन।
नेपाली जनसम्पर्क समिति साउदी अरबका सभापति थापाले जुनसुकै वाद र नेतृत्वको आवरणमा हुने अराजक र भौतिक आक्रमण अस्वीकार्य भएको जनाउदै नेपाली कांग्रेसका आम सदस्यहरुलाई यो परिस्थितिमा संयमता अपनाउनु हुन र कत्ति पनि विचलित नहुन अनुरोध गर्नुभएको छ । उहाँले यस्तो अराजक हर्कत गर्नेहरुलाई कानुनी दायरामा ल्याएर दण्डित गर्न पनि माग गर्नुभएको छ।
नेपाली जनसम्पर्क समिति साउदी अरबले कठिन घडीमा धैर्यता र संयमता राखी आपसी सद्भाव र एकता कायम राख्न सबै नेपालीलाई अपिल गरेको छ ।
जनसम्पर्क समिति साउदी अरबका तर्फबाट सभापति थापाले हाम्रो देशले अब यो भन्दा बढी क्षति धान्न नसक्ने उल्लेख गर्दै हिंसा भड्कने थप गतिविधि नगर्न नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति,महामन्त्री, परराष्ट्रमंत्रीलगायतका नेतागणमाथि भौतिक आक्रमण र नेताहरुको निजी सम्पतिमा आगजनी भएको घट्नाको प्रवृत्ति केलाउदै जनसम्पर्क समिति साउदी अरबले जेनजीका कलिला किशोर किशोरीहरुको आन्दोलनमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी अराजकतावादीहरुको नियोजित घुसपैठ भएको आशंका समेत गरेको छ ।
जनसम्पर्क समिति साउदी अरबले देशमा शान्ति र सद्भाव कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दलका शुभेच्छुकहरु र लोकतन्त्र पक्षधर आम नेपालीजनसंग अपिल गरेको छ ।
जनसम्पर्क समिति साउदी अरबले लोकतन्त्रको विकल्पमा कुनैपनि किसिमका अधिनायकवाद र निरंकुशतावाद मान्य नहुने स्पष्ट गर्दै संयुक्त राष्ट्र संघ लगायत नेपालका हितैषी अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि नेपालमा शान्ति कायम गरी संवैधानिक प्रक्रिया सुचारु गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अगाडि बढाउनेतर्फ सघाउन आवश्यक पहल गरिदिन समेत अनुरोध गरेको छ।






