नयाँदिल्ली(भारत), २६ भाद्र । नेपाली जनसम्पर्क समिति भारतले देशका देखा परेका राजनीतिक गतिरोधलाई संवैधानिक प्रकृया सुचारु गरेर समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेको छ ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भाद्र २५ गते बुधबार तद्अनुसार १० सेप्टेम्बर २०२५ मा एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति पौडेलसंग त्यस्तो आग्रह गर्नुभएको हो ।
नेपालमा भाद्र २३ गते जेन जी पुस्ताद्धारा सुरु गरिएको प्रदर्शन अनियन्त्रित हुनगई भड्किएको हिंसाले १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्री र प्रधानमन्त्रीले राजिनामा दिएपछि २४ गते देशव्यापी रुपमा भएका आगजनी र तोड्फोडका घटना भएपछि २५ गते उहाँले प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो ।
उहाँले विज्ञप्तिमा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू लोकतान्त्रिक आन्दोलनको मर्मसँग मेल नखाने उल्लेख गर्नुभएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत अंगमाथि भएको आक्रमणलाई अत्यन्तै गम्भीर र चिन्ताजनक भन्दै यसले लगानीको वातावरण कमजोर पारेको र पुनःस्थापनामा लामो समय लाग्ने चेतावनी दिइएको छ। जेनजीको नाममा घुसपैठ गरेका प्रतिगामीहरुले जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरका चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको समयमा कार्यापालिकाका प्रमुखको कार्यालय रहेको देशको प्रमुख प्रशासकीय भवन सिंहदरबार, संघीय व्यवस्थापिकाका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने स्थल संसद भवन र न्यायालयको धरोहर सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्रीको सरकारी र निजी निवास, मन्त्रीहरुको सरकारी र निजी निवास लगायत कांग्रेस र एमालेका पूर्वमन्त्रीहरुको निवासमा पनि आगजनी गरेका थिए ।
जनसम्पर्क समिति भारतले कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजू राणा लगायतका नेतामाथि भएको आक्रमणको विरोध गर्दै युवाहरूका भावनाको सम्मान हुनुपर्ने भए पनि अराजक तत्वहरूको संलग्नताले आन्दोलनको उद्देश्य नै कमजोर भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा हाल देश राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा परेको भन्दै राष्ट्रपतिको नेतृत्वमा सुरक्षा निकायले शान्ति–सुरक्षा कायम गर्नु अपरिहार्य भएको उल्लेख गरिएको छ।
जनसम्पर्र्क समितिका अध्यक्ष पाण्डेले सबै राजनीतिक दल, नागरिक समाज, युवा र सुरक्षा निकायलाई “पहिले देश बचाऔं” भन्ने साझा भावनाले प्रेरित भएर एकजुट हुन आह्वान गर्नुभएको छ।
समितिले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिज्यूबाट हुने संवैधानिक पहललाई समर्थन जनाएको छ। साथै, मित्रराष्ट्र र अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई घटनाको यथार्थ बुझेर नेपालप्रति धारणा बनाउन आग्रह गरिएको छ।
नजसम्पर्क समिति भारतले प्रदर्शनमा उत्रेका युवाहरूप्रति विशेष अपिल गर्दै भनेको छ — “तपाईंहरूको भावना र देश बनाउने सपना अराजक तत्वहरूले दुरुपयोग गरिरहेका छन्। नेपाल आमालाई साक्षी राख्दै देश बचाउन सबैजना एकजुट हुन आवश्यक छ।”
समिति २०८२ भाद्र २३–२४ गते नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति नेपाली जनसम्पर्क समिति, भारतले गहिरो दुःख पनि प्रकट गरेको छ।
समितिका अध्यक्ष बालकृष्ण पाण्डेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका छोराछोरी र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, जनधनमा भएको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरिएको छ।






