ओखलढुङ्गा, ४ जेठः नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा जेठ २ गते राति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।
सभापति देउवाद्धारा गहिरो दुःख व्यक्त
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ — “नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति, पूर्व जिविस सभापति एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा महेशकुमार कर्मोचाको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय कोर्मोचाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।”
उहाँको पार्थिव शरीरलाई आज जेठ ४ गते बिहान पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका महेश कोर्मोचाको निधनबाट नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता, अग्रज र एक अनुभवी राजनीतिज्ञलाई गुमाएको छ ।

विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मनुभएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बच्नुभएको थियो । उहाँले नेपाली राजनीतिको लामो समय योगदान गर्नुभयो । विसं २००७ मा भएको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको उहाँको राजनीतिक यात्रा पछि उहाँ ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बन्नुभयो ।
हजुरबुबा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुआत भएको बताउने महेश कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी थियो ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतङ्कित भएसँगै प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान जानुभएको थियो । उहाँसहित १५ जनामध्ये १४ जना भर्ती हुनुभएको थियो । ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गर्नुभएको थियो । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय हुनुभयो ।
विसं २०२५ मा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गर्नुभयो । त्यसबेला सवारी चालक भएकोदेखि रक्सीको व्यापारसमेत गरेर सङ्गठन निर्माण गरेको इतिहास छ ।
विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि हुनुहुन्थ्यो । क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो । बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस कोर्मोचा बच्न सफल हुनुभएको थियो । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।
ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक हुनुहुन्थ्यो क्याप्टेन यज्ञबहादुर थापा । उहाँ नेपाली सेनाका पूर्वक्याप्टेन हुनुहुन्थ्यो । नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लाग्नुभएको थियो । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पु¥याइ हत्या गरिएको थियो ।
विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि महेश पनि पक्राउ पर्नुभएको थियो । राज्यविरुद्धको मुद्दामा उहाँ पटकपटक गरी आठ वर्षको जेल जीवन बिताउनुभएको थियो ।
विसं २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति हुनुभएको थियो ।
बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरे पनि पुनः कांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहनुभएको थियो ।
उहाँको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।




