काठमाडौँ, १ पुसः नेपाली कांग्रेसका नेता ,पूर्व मन्त्री एवम् काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ ।
पेटसम्बन्धी रोगको उपचारमा रहनुभएका सिंहको नेपाली कांग्रेसका नेता एवम् उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । नेपाली कांंग्रेसका नेता लौहपुरुष गणेशमानसिंहको निकट रही नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएका सिंंहले आफ्नो जीवनका अधिकांश समय सिंहको चाक्सीबारी निवासमा बिताउनुभएको थियो ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आइतबार बिहान ११ सम्म निवास चक्सिबारीमा राखी त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा लगिएको थियो ।
कांग्रेसद्वारा नेता सिंहको निधनप्रति शोक प्रस्ताव पारित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्व सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३ औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताउनुभयो ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौँ नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गएराति १ः०० बजे निधन भएको हो ।
विसं १९९६ चैत ११ गते काठमाडौंको ताम्सिपाखामा जन्मनुभएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकाल २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
स्व सिंहले लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकट रहेर कार्य गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा उहाँले पटक–पटक जेल जीवन व्यतीत गर्नुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो ।
प्रजातन्त्रप्रति प्रतिबद्ध सिंहले विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनका बेला कुशलतापूर्वक पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो।
प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उहाँ काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित हुनुभएको थियो । स्व सिंहकै पहलमा विसं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । नगरप्रमुखको निर्वाचनमा उहाँले नै स्वच्छ, सफा र हराभरा काठमाडौँको नारा अगाडि सार्नुभयो र आफू नगरप्रमुख हुँदा सो त्यो सपना साकार पार्न अभियान सुरु गर्नुभयो । वातावरण मन्त्री बन्दा समेत उहाँले स्वच्छ , सफा, हरभरा काठाडौंको नारालाई साकार पार्ने प्रयास छोड्नु भएन । उहाँकै प्रयासमा सुरु भएको काठमाडौंका खोला र नदी किनारामा सडक बनाउने योजनाले काठमाडौंको सडक यातायात प्रणाली सहज हुन गएको हो ।
उहाँ विसं २०५६ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य हुनुभएको थियो । स्व सिंहले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।
कांग्रेस नेताहरूद्वारा सिंहप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार अपरान्ह १२ बजेदेखि २ः३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत केन्द्रीय सहस्यहरु र काठमाडौंमा उपस्थित पार्टीका निवभन्न तहका कार्यकताहरुले पुष्ष गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
स्वर्गीय नेता गणेशमान सिंह निकट रहेर लामो समय काम गर्नुभएका सिंहले नेपाली कांग्रेसको पार्टी संगठनका साथै नेपालको राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
काठमाडौँ महानगरपालिकाद्धारा सम्मान बिदा
काठमाडौँ महानगरपालिकाका प्रथम मेयर सिंहको योगदानको स्मरण र सम्मानमा काठमाडौं महानगरपालिकाले सोमबार केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यकबाहेक सेवा बन्द गरी शोक बिदा दियो ।
पहिले नगरपालिकामा सीमित रहेको काठमाडौँलाई महानगरपालिका बनाउन महत्वपूर्ण योगदान गर्नुभएका स्वर्गीय र्सिहप्रति सम्मान जनाउन काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डङ्गोलसहित वडाअध्यक्षहरु पूर्वप्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न चाक्सीबारी पुग्नुभएको थियो ।
चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरूले पूर्वप्रमुखको पार्थिव शरीरलाई बिदाइ र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।उहाँहरूसँगै कामपाका प्रवक्ता नवीन मानन्धर, विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, नगरसभा सदस्य र कर्मचारीहरूले सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जली अर्पण गर्दै मेयर साहले साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्नमा स्व प्रेमलाल (पिएल) सिंहको अतुलनीय योगदान रहेको बताउनुभयो। “प्रजातन्त्र पुनःस्थापना पछि भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाको प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो”, महानगर प्रमुख शाहले भन्नुभयो ।
लखतीर्थमा अन्त्येष्टि
काठमाडौँ महानगरपालिकाका पूर्वनगरप्रमुख प्रेमलाल –पिएल) सिंहको नेवारी परम्पराअनुसार सोमबार साँझ अन्त्येष्टि गरिएको छ । महानगरपालिका–१५ स्थित लखतीर्थमा स्वर्गीय सिंहको अन्त्येष्टि गरिएको हो । स्व सिंहको पार्थिव शरीरमा उहाँका भाई इन्द्रलाल सिंहले दागबत्ती दिनुभएको थियो ।
अन्त्येष्टिमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत वडाध्यक्ष, कार्यपालिका सदस्य एवं महानगरसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रजातन्त्रप्रति प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्व सिंहको स्मरण
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहलाई प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्मरण गरिएको छ ।नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सामीप्यमा रही नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि योगदान दिनुभएका सिंहले सत्य, निष्ठा र इमान्दारको प्रतीकका रूपमा आफ्नो छवि बनाउनुभएको उहाँका सहकर्मीले प्रतिक्रिया दिनुभएको छ ।
समाजसेवी हितकरवीरसिंह कंसाकारले हरेक नागरिकदेखि माथिल्लो ओहदामा रहने सबैलाई समान व्यवहार गर्ने सिंह प्रजातन्त्रप्रति अडिग र ज्यादै इमान्दार नेता हुनुहुन्थ्यो भन्नुभयो ।
मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी भई उहाँले विसं २०४९ मा तत्कालीन काठमाडाँै नगरपालिका प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । कंसाकारले भन्नुभयो, “पिएलजी गणेशमानसिंह र मङ्गलादेवीको सामीप्यमा रही राजनीतिक सहयोगीका रूपमा लामो समय काम गर्नुभयो, प्रजातन्त्रवादी योद्धा पिएलले काठमाडौँ नगरपालिकालाई विश्वमा चिनाउन धेरै महत्वपूर्ण कामसमेत गर्नुभएको छ ।”
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट विजयी भएपछि वातावरणमन्त्री बन्नुभएका सिंहले त्यसअघि नै काठमाडौँलाई स्वच्छ, सफा र हराभराको नारा दिएर काम गर्नुभएको थियो । उहाँका पिता स्वास्थ्यकर्मी चन्द्रमान सिंहसमेत तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध र प्रजातन्त्रका पक्षमा लामो समयसम्म संलग्न भई काम गर्नुभएको थियो ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रप्रति प्रतिबद्ध सिंहले विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनका बेला कुशलतापूर्वक पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “गणेशमानजीको राजनीतिक सहयोगीका रूपमा पिएलले काम गर्नुभयो । उहाँ समाजमा सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ भन्नुहुन्थ्यो । स्वच्छ, सफा र हराभरा काठमाडौँ अभियान उहाँले सुरु गर्नुभयो । उहाँ प्रजातन्त्रप्रति निष्ठावान् र अडिग व्यक्ति हुनुहुन्थ्यो ।”




