सानेपा (ललितपुर) । नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले पार्टीको केन्द्रीय कार्यालय बीपी नगर सानेपामा नेपाली जनसम्पर्क समिति मलेशिया र सउदी अरबका सभापतिहरुलाई क्रियाशील सदस्यता कार्ड हस्तान्तरण गर्नुभएको छ ।
विभागका प्रमुख पौडेलले नेपाली जनसम्पर्क समिति मलेशियाका सभापति चोलाकान्त पंगेनी र साउदी अरबका सभापति अर्जुन थापालाई समबन्धित देशमा रहने नेपाली कांग्रेससंग आबद्ध र प्रतिबद्ध व्यक्तिहरुलाई वितरण गर्नका लागि क्रियाशील सदस्यता कार्ड हस्तान्तरण गर्नुभएको हो ।
दशै र तिहारको अवसर पारेर नेपाल आउनुभएका जनसम्पर्क समिति मलेशिया र साउदी अरबका सभापतिहरु हाल नेपालमा नै हुनुहुन्छ ।
विभाग प्रमुख पौडेलले पार्टीको १४ औं महाधिवेशन पछि विभागहरु गठनको प्रक्रिया स्वभाविक गतिले अगाडि बढेको बेलामा विदेशमा रहेका लोकतन्त्रप्रति प्रतिबद्ध साथीहरुलाई नेपाली कांग्रेसमा आबद्ध गर्न क्रियाशील सदस्यता वितरणको शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
उहाँले विदेशस्थित जनसम्पर्क समितिका सभापतिद्धय पंगेनी र थापालाई संबन्धित देशका जनसम्पर्क समितिको सदस्यता संख्या विस्तार गर्दै संगठनलाई सबल, सुदृढ र अनुशासित बनाउन र योग्यताका आधारमा क्रियाशील सदस्यता वितरण गर्न निर्देशन पनि दिनुभएको थियो ।
नेपाली जनसम्पर्क समिति मलेशिया र साउदी अरेबियाका सभापतिद्धय पंगेनी र थापाले संगठनका लागि मरिमेट्ने साथीहरुले निरन्तर माग गर्दै आएको क्रियाशील सदस्यताको कार्ड वितरण कार्यको शुभारम्भ गरेर जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले विदेशमा रहेका नेपाली कांग्रेससम्बद्ध सबैलाई सकारात्मक सन्देश दिनुभएको बताउनुभयो । उहाँहरुले पार्टीको नियमानुसार नै क्रियाशील सदस्यता वितरण गरिने पनि प्रष्ट पार्नुभएको थियो ।




