काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेस गम्भीर रहेको बताउनुभएको छ।
शिक्षकहरूको मागबारे पार्टीले सरकारसँग पनि कुरा राखिरहेको सभापति देउवाले बताउनुभयो।
बिहीबार बूढानीलकण्ठमा नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग भएको छलफलमा सभापति देउवाले शिक्षकहरूका माग सम्बोधन गरिनुपर्नेमा जोड दिनुभएको हो।
‘शिक्षकहरूका मागप्रति पार्टी गम्भीर छ। मैले प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीलाई पनि वार्ता र संवादबाट शिक्षकहरूका माग पूरा गर्ने दिशातर्फ अघि बढ्नुपर्छ भनिसकेको छु, “सभापति देउवाका भनाइ उद्धृत गर्दै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले भन्नुभयो, ‘शिक्षकहरूले पनि देशको परिस्थिति बुझिदिनुपर्ने हुन्छ। शिक्षकहरूका माग पूरा गर्न पार्टी गम्भीर छ।”
विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
आन्दोलनरत शिक्षकहरू सरकारसंगको वार्तामा पनि सहभागी भएका छन्।
कांग्रेस शिक्षा विभाग प्रमुख महरले विज्ञप्ति निकालेर शिक्षकहरूले उठाउँदै आएका माग संवादबाट हल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिसक्नुभएको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि शिक्षकहरुका माग पूरा गराउन सरकारको ध्यानाकृष्ट गराउनुभएको छ ।
कांग्रेस सहमहामन्त्री जीवन परियारसहित पदाधिकारी,केन्द्रीय सदस्य र सांसदहरुले शैक्षिक शत्र आरम्भ हुने र माध्यमिक शिक्षा परीक्षा(एसईई)को उत्तरपुस्तिका जाच्नुपर्ने समय आएकोले शिक्षकहरुको माग सम्बोधन गरी विद्यालयको पठनपाठन कार्य सुचारु हुने वातावरण सिर्जना गर्न सरकारसमक्ष आग्रह गरिसक्नुभएको छ ।




