काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको १५ मंसिरमा बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म राजधानी काठमाडौंमा गर्ने निर्णय गरेसंगै पार्टीको महत्वपूर्ण र अभिन्न अंगको रुपमा रहेका विदेशस्थित जनसम्पर्क समितिहरुको अधिवेशनको समय तालिका प्रकाशन भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले मंसिर १६ गते विदेशस्थित सबै जनसम्पर्क समितिहरुलाई पत्राचार गरी अधिवेशनको समय तालिकाबारे जानकारी गराउनुभएको छ ।
विभागका प्रमुख पौडेलले दिनुभएको जानकारी अनुसार विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य २०८२ मंसिर मसान्त भित्र गरिसक्नुपर्ने छ । नवीकरण गरिएका क्रियाशील सदस्य र नयाँ क्रियाशील सदस्यको नामावली २०८२ पुस ३ गते भित्र पार्टीको केन्द्रीय कार्यालयमा पठाउनु पर्ने छ । पार्टीको केन्द्रीय कार्यालयको सम्बन्धित विभागले उक्त नामावली २०८२ पुस ५ गतेभित्र स्वीकृत गर्नेछ । अन्तिम नामावली स्वीकृत भएपछि त्यसका आधारमा अन्य प्रक्रिया पूरा गरेर २०८२ पुस १५ गतेभित्र सबै जनसम्पर्क समितिहरुले संवन्धित देशमा राष्ट्रिय अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।
विभाग प्रमुख पौडेलले भन्नुभएको छ, “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन २०८२ पौष २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरे बमोजिम १५ औं महाधिवेशनको कार्यतालिका अन्तर्गत नेपाली जनसम्पर्क समितिको देहाय बमोजिमको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको जानकारी गराउँदै तोकिएको मिति भित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गरी कार्य सम्पन्न गर्ने, क्रियाशील सदस्यताको सूची, बैठकको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यता नयाँ र नवीकरणको रकम, जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुको लेवी रकम सहित पार्टीको केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रबाट स्वीकृत भएका क्रियाशील सदस्यता र नेपाली जनसम्पर्क समितिका सदस्यहरुबाट अधिवेशन सम्पन्न गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।”




