महेन्द्रनगर (धनुषा), २३ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताउनुभयो ।
“आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उहाँले भन्नुभयो । त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।
सभापति देउवाद्वारा मैथिली भवन उद्घाटन
जनकपुर भ्रमणका अवसरमा सभापति देउवाले जनकपुरधाम–८ स्थित मैथिली विकास कोषले निर्माण गरेको नवनिर्मित मैथिली भवनको उद्घाटन पनि गर्नुभयो । उहाँले गर्दै जनकपुरधामले नेपाल–भारतबीचको सम्बन्ध बढाउन पनि यसले भूमिका खेलेको उल्लेख गर्नुभयो ।
मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको रु सात करोड ५० लाखमा निर्माण भएको उक्त भवन पाँच कठ्ठामा फैलिएको छ । एउटा सभाहलसहित भवनमा ३० वटा कोठा छन् ।
त्यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादव, पूर्वमन्त्री कृष्णप्रसाद सिटौला र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिलाको गरिमा तथा महत्वका बारेमा बोल्नुभएको थियो ।
सो अवसरमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री रामसरोज यादव तथा नेपाली कांगे्रस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादव लगायतको उपस्थिति थियो ।
संसद् अवरोध जनमतको अपमान
कांग्रेसका दिवङ्गत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनकपुर आउनुभएका सभापति देउवाले विपक्षीहरुले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नुको साथै जनमतको अपमान गरेको बताउनुभएको थियो ।
बिहिवार धनुषाको धनुषाधाममा आयोजित सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा उहाँले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार दुई दलको सहमति बमोजिम २०८४ सालको निर्वाचनको परिणाम आउदासम्म टिक्ने उल्लेख गर्नुभएको थियो ।




