काठमाडौँ, १८ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले किराँत समुदायले उल्लासपूर्वक मनाउने उभौली र नेवार समुदायले हर्षोल्लासपूर्वक मनाउने यःमरि पुन्हिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पार्टी सभापति देउवाले आफ्नो संक्षिप्त शुभकामना सन्देशमा भन्नुभएको छ, उधौली पर्व, धान्यपूर्णिमा र यःमरि पुन्हिको सबैमा शुभकामना।
कार्यवाहक सभापति खड्काले नेपाली समाजमा मनाइने पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।
उहाँले विविधतायुक्त राष्ट्र नेपालमा विभिन्न भाषा, धर्म, संस्कार, समुदाय र जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको स्मरण गर्नुभएको छ ।
कावा सभापति खड्काले मुलुकमा एकअर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने आफ्नै विशिष्ट पहिचान रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, किराँत समुदायको महत्त्वपूर्ण पर्व उँधौली, ज्यापू समुदायको सांस्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापू दिवस) र समृद्धिको प्रतीक धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायुको शुभकामना ।
कावा सभापति खड्काले यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।




