सानेपा(ललितपुर), १५ असारः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय धान दिवसको अवसरमा समस्त नेपालीलाई शुभकामना दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश प्रेषित गर्नुभएको छ । यस दिवसले समस्त नेपाली किसानलाई आफ्नो धानखेती योग्य जमिनलाई सदुपयोग गरेर मुख्य खाद्यान्न धानमा आत्मनिर्भर बन्न र अधिक उत्पादन गरी निर्यातसम्म गराउने अवस्थामा पुर्याउन प्रेरित गर्ने विश्वास गरिएको छ । धान खेती योग्य जमीनमा सिंचाई सुविधा पुर्याउन र किसानलाई समयमा नै पर्याप्त मल उपलब्ध गराउन तीनै तहका सरकारले प्रयासरत रहेका पनि छन् ।
नेपालमा परापूर्वकालदेखि १५ असारलाई विशेष महत्वकासाथ मनाइँदै आइएको छ । नेपाल कृषिप्रधान देश भएको मुख्यबाली धान भएकोले यो दिनको विशेष महत्व छ । १५ असार मनसुन परिपक्व भएको समयमा पर्दछ । धान खेतीलाई रोपेको दिनदेखि नियमित पानी चाहिन्छ । १५ असार वरपर रोपेको धानले पानी निरन्तर पाउने भएकाले यस समयमा रापेको धान राम्रो फल्छ । यसलै किसानहरुलाई १५ असारमा असाध्यै चटारो हुन्छ । यस दिनलाई नेपालीहरुले मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ ।
यही महत्वलाई दृष्टिगत गर्दै विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना धानखेती लगाउन व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
दही चिउरा खाने दिन
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
कामको चटारोले थकित भएका किसान यस दिन शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । प्यास नलाग्ने र शक्ति प्राप्त भइरहने विश्वास छ ।दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्र्धक मानिन्छ । गोरखाका गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।




