काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको ९१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरसंग जुधिरहनुभएका उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा २०८२ मंसिर २७ गते शनिवार निधन भएको हो ।
उहाँको निधनपछि सोमवार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आकास्मिक बैठकले उहाँको सम्मानमा विभिन्न निर्णय गरेको छ। उहाँको निधनप्रति कार्यसमितिले गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ । बैठकले शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुड.को सभापतित्वमा बसेको बैठकले २०८२ मंसिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीले २०८२ पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । केन्द्रीय समितिको आकास्मिक बैठकले स्वर्गारोहणको १३ औं दिनमा उहाँको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
वि.सं. २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएका उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । उहाँ वि.सं. २०५६ मा शिक्षा तथा खेलकूद मन्त्री हुनुहुन्थ्यो भने वि.सं. २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनःस्थापित व्यवस्थापिका संसदको सदस्य हुनुहुन्थ्यो । त्यसैगरी वि.सं. २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित हुनु भएको थियो । अत्यन्त शालिन र वौद्धिक व्यक्तित्वका रुपमा पार्टीमा परिचित स्वर्गीय उपाध्याय वि.सं. २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताउनु भएका उपाध्यायले निर्वासित जीवन समेत बिताउनु भएको थियो । समाजसेवा र अध्ययनमा विशेष रुची राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरुमा लेख रचनाहरु समेत प्रकाशित भएका छन् ।
पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ ।




