सानेपा(ललितपुर), १८ पौष । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राख्नुभएको महाधिवेशन सार्ने प्रस्ताव बहुमतले पारित भएको थियो । सो प्रस्तावमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह के.सी.,फरमूल्लाह मन्सूर र उमा रेग्मीले फरक मत राख्नुभएको थियो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको मंसिर १५ मा बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन पुस २६-२८ सम्म काठमाडौंमा गर्ने निर्णय गरी समय तालिका पारित गरेको थियो । सो समय तालिका अनुसार पुस १६ सम्म वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । तर कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रिया नै आजसम्म टुंगिएको छैन ।
पार्टीको नियमित महाधिवेशनतालिका प्रभावित भएपछि महामन्त्री थापा र शर्माले बिहिवार नियमित १५ औं महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशन विधानअनुरुप गर्ने संयुक्त विज्ञप्ति जारी गरेपछि कांग्रेसको राजनीतिमा हलचल पैदा भएको थियो । पूर्वनिर्धारित महाधिवेशन स्थगित गरी नयाँ महाधिवेशन मिति र कार्यतालिका निर्धारण गर्न आजका लागि कार्यसम्पादन समितिको बैठक राखिएको थियो ।
यस्तो छ पारित भएको नयाँ तालिका
चैत २१ – वडा अधिवेशन
चैत २५- गाउँरनगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन
वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन
वैशाख २८, २९, ३० र ३१( केन्द्रीय अधिवेशन
विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको लागि
२०८२ माघ ७ गते भित्र – क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि
२०८२ माघ २९ गतेभित्र- केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि
२०८२ माघ १५ गते भित्र- अधिवेशन








