नयाँदिल्ली(भारत), ६ माघ । नेपाली जनसम्पर्क समिति भारतले यही माघ ५ र ६ गते(तद्अनुसार जनवरी १८ र १९, २०२५)मा भारतको राजधानी नयाँदिल्लीमा बार्षिक भेलासहित विभिन्न कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय समिति नयाँदिल्लीको ब्यवस्थापनमा आयोजित उक्त बार्षिक भेलाका अवसरमा नेपाली जनसम्पर्क समिति भारतको बैठक, ‘नेपाल-भारत सम्बन्ध, वी पी विचार र प्रवासी नेपालीका समस्या’ विषयमा अन्तरक्रिया साथै नेपाली कांग्रेसले लिएका नीति, विचार र समसामयिक राजनीतिका साथै प्रवासमा सगठन र आपसी सहयोग जस्ता विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।
मालवीय स्मृति भवन नयाँदिल्लीमा सम्पन्न उक्त दुई दिने कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व मन्त्री डा.प्रकाशशरण महतको नेतृत्वमा नेपाली कांग्रेसको प्रतिनिधि मण्डल नयाँदिल्ली पुगेको थियो ।
जनसम्पर्क समिति भारतको बार्षिक भेलासहितका कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताउनुभयो ।
माघ ५ गते आइतबार नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘भारतमा रहेका प्रवासी नेपालीहरूले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरूले आगामी दिन खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु ।’
डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता–कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हावी हुन खोजेको भन्दै यस्ता प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता–कार्यकर्ता लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टी प्रवक्ता डा. महतले नेपाल–भारत सम्बन्धको चर्चा गर्दै भन्नुभयो, ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ २ देशका बीचमा समस्याहरू आउनु स्वाभाविक हो, ती समस्याहरूको समाधान कुटनीतिक रूपमा वार्ताको टेबुलमा बसेर गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले–कांग्रेस गठबन्धन बनेको बताउनुभयो । ७ बुँदे समझदारी अनुसार सरकार अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै उहाँले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने बताउनुभयो ।
नेपाली जनसम्पर्क समिति भारतको बार्षिक भेलासहितका कार्यक्रममा जनसम्पर्क समिति भारतको केन्द्रीय पदाधिकारी र सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सबै क्षेत्रका क्षेत्रीय अध्यक्ष र महासचिवहरु ,नेपाल विद्यार्थी संघ , तरुण दल ,महिला संघ,लगायत भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुका साथै भारतका लागि नेपालका राजदूत डा शंकर शर्मा, नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवं नेपाली कांग्रेस मधेस प्रदेश सभा दलका नेता सांसद कृष्ण यादव , नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानिया, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान एवं प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठको उपस्थिति रहेको थियो ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पान्डेको अध्यक्षतामा सम्पन्न सो बार्षिक भेलासहितका कार्यक्रम नेपाली जनसम्पर्क समिति भारतका महामन्त्री जगन्नाथ पौडेलले सञ्चालन गर्नुभएको थियो।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बार्षिक भेला सहितका कार्यक्रमहरुलाई सफल तुल्याउने आयोजक नेजस उत्तर भारत क्षेत्रीय समिति, केन्द्रिय कार्यसमिति, नेपालबाट आउनु भएका अतिथिगण, कलाकार र पत्रकारसहित सबै सहभागीहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।




