काठमाडौं,२५ वैशाख । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको संख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ ।
विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा मंगलवार सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख,पदाधिकारी तथा प्रतिनिधिहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तद्नुसार २०८२ वैशाख १८ गतेका दिन पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रवासमा नेपालीः सरकारको दायित्व र नेपाली जनसम्पर्क समितिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको समुद्घाटन समारोहका प्रमुख अतिथि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाू, कार्यपत्र तथा समापान सत्रका प्रमुख अतिथि एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का,पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, मन्त्रीहरु,कार्यपत्र प्रस्तोता, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा पदाधिकारीहरु, विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवम् पदाधिकारीहरु लगायत सबैमा सहभागीहरुलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।
बैठकले सो कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुलाई सहभागीहरुको जिज्ञासा र प्रस्तोताहरुको जवाफसहित परिमार्जन गरी अन्तिम रुप दिन प्रस्तोताहरुलाई अनुरोध गर्नुका साथै कार्यक्रमको प्रोसिड. पेपर पनि तयार पारेर प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिहरुलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसंग निरन्तर सम्पर्क र समन्वय गर्नका लागि सूचना प्रविधि(आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष ३ देखि ५ जना व्यक्तिको नाम विभागका पठाउन निर्देशन गर्ने र ती जनशक्तिको परिचालनको संयोजनको जिम्मेवारी विभागका सदस्य नारायण खरेललाई दिने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले विभागको वेभसाईट अद्यावधिक गर्ने कामको संयोजन गर्न विभागका सदस्य प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ भने नेपाली जनसम्पर्क समिति भारतसंग समन्वय राखी भारतमा रहेका सबै क्षेत्रका नेपाली जनसम्पर्क समितिहरुलाई अझ बढी क्रियाशील बनाउन विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि विभागबाट सदस्य सुनिता जीसी कुँवरलाई संयोजक तोकिएको जानकारी विभागले दिएको छ ।
बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको विधानमा एकरुपता ल्याई समितिहरुको सांगठानिक स्वरुप र कामहरुलाई अझ सुव्यवस्थित गराउनका लागि विधानहरुको अध्ययन गरी सुझाव पेश गर्न विभागका सदस्य ऋषि शर्मालाई संयोजक तोकेको छ ।
बैठकले गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको लागि शुभकामना पनि दिएको छ । विभागले सोही दिन संघको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठसहित पदाधिकारीहरुलाई सम्मान पनि गरेको थियो ।




