सानेपा(ललितपुर), ४ पौष । नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सप्ताहव्यापी रुपमा मनाउन विदेशस्थित सबै जनसम्पर्क समितिहरुलाई पत्राचार गरेको छ ।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्माले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सप्ताह २०८१ पौष १४ देखि २० सम्म सप्ताहव्यापी रुपमा मनाउन विश्वभरका जनसम्पर्क समितिहरुलाई आह्वान गर्दै परिपत्र गरिसकिएको जानकारी दिनुभएको छ । उहाँले “सबै जुटौ, कोही नछुटौ” भन्ने नारासहित मनाइने यस सप्ताहव्यापी कार्यक्रममा समसामयिक विषयमा विचार गोष्ठी, प्रवचन, रक्तदान, वनभोज,स्वास्थ्य शिविर सञ्चालन, खेलकूद, नृत्य वा गायन प्रतियोगिता जस्ता कार्यक्रम आयोजना गरी सबैलाई समेटेर संगठनलाई अझ बढी क्रियाशिल, सशक्त, लोकप्रिय र जनमुखी बनाउने कार्यादेशसहितको पत्र बिहिबार नै सबै जनसम्पर्क समितिलाई पठाइसकिएको जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसका संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक वीपी कोइरालाले देशको राष्ट्रियता नै संकटमा परेको अवस्थालाई मूल्यांकन गरेर मेलमिलापको नीति प्रतिपादन गरी २०३३ साल पौष १६ गते आठ बर्ष लामो निर्वासन परित्याग गरी स्वदेश फर्केर प्रजातन्त्र पुनस्थापनाको संघर्षलाई निरन्तरता दिनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।
देश संंकट परेको बेलामा पहिले देश बचाउनु पर्दछ र राष्ट्रलाई बलियो बनाउनु पर्दछ । देश बलियो र समुन्नत बनाउन जनताबिचमा विभाजन ल्याउनु हुँदैन । जुनसुकै विचारधारा अंगीकार गरेपनि राष्ट्रको विकास र जनताको सेवामा सहभागी हुन पाउँनु पर्दछ । सबैलाई राष्ट्रिय विकासमा समाहित गर्न बहुदलीय व्यवस्था आवश्यक पर्दछ । त्यसका निमित्त देशभित्रैबाट संघर्ष गर्नुपर्दछ भन्ने निश्कर्षसहित उहाँ आफ्ना सहयोगीसहित स्वदेश आउनुभएको थियो । जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि पञ्चायत धर्मराउन थाल्यो । जनमत संग्रहको घोषणा भयो । त्यसले बहुदलवादीलाई थप प्रेरणा दियो । त्यसपछिको सत्याग्रह र २०४६ सालको जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थालाई परास्त गरेर नेपालमा बहुदलीय व्यवस्थाको पुनस्थापना भएको हो । नयाँ पुस्तालाई नेपाली कांग्रेसको गौरवमय इतिहास स्मरण गराउँदै लोकतान्त्रिक राज्य व्यवस्थाको महत्व बुझाउन नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई अवसरको रुपमा लिँदै आएको छ ।
अहिले देशमा जननिर्वाचित संविधानसभा सदस्यहरुले नेपाली जनताको प्रत्यक्ष संलग्नतामा निर्माण गरेको संविधान कार्यान्वयनमा छ । नेपाललाई गणतन्त्रको उज्यालोमा डोर्याउने संविधानसभाले बनाएको यो संविधानले नेपालको राजनीतिमा बर्षौदेखि उठ्दै आएका संघीयता, गणतन्त्र र समावेशीका मुद्दाहरुलाई निरुपण गरेको छ । संविधान जारी भएपछि सम्पन्न तीनै तहका दुईवटा निर्वाचनले राजनीतिक र प्रशासनिक पद्धतिलाई स्थायीत्वतर्फ लगिरहेका छन् । तीनै तहका सरकारहरु जनतालाई सेवा र सुविधा दिने उत्तम उपायको खोजीमा लागिरहेका छन् ।
विभागका प्रमुख पौडेलले भन्नुभएको छ , “यो अवस्थालाई हृदयंंगम गर्दै प्रवासमा रहनुभएका साथी आफूहरुलाई संगठित गर्दै राज्य सञ्चालनमा, सामाजिक व्यवस्था सुधारमा, निजी संस्थाहरुको सुधार र विकासमा संबन्धित देशमा भएका असल अभ्यासहरु नेपालमा भित्र्याउन उपयुक्त पहल गर्न आवश्यक छ । त्यसका लागि सबैलाई एक स्थानमा जुटाउन नेपाली जनसम्पर्क समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ ।”
उहाँले सबै जनसम्पर्क समितिहरुलाई कार्यक्रम तय र सम्पन्न भएपछि सोको जानकारी विभागमा पठाउन पनि भन्नुभएको छ ।




