सानेपा(ललितपुर), १६ आषाढ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, लतिलपुरमा बस्यो ।
बैठकमा पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन सम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै महामन्त्री गगनकुमार थापाले बैठकको एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरणमा भएको प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराउनु भएको थियो । उहाँले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
सोमवारको बैठकमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डा.शेखर कोइराला, बलबहादुर के.सी., कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बैठकपछि प्रकाशित गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार १७ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।




