नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सर्वमान्य नेता स्व. गणेशमान सिंहको ११०औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालको राजनीतिमा त्याग र साहसको उदाहरण मानिनुहुने सिंह सबैको लागि एक प्रेरणादायी सर्वोच्च नेता हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनको सफलतापछि तत्कालीन राजा वीरेन्द्र शाहबाट उहाँलाई प्रधानमन्त्री बन्न आएको आग्रहलाई मैले भन्दा पार्टीका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईलाई बनाउदा राम्रो हुन्छ भन्ने सदाशय राखी अस्वीकार गर्नुभएको थियो ।

तर प्रधानमन्त्री पद त्यागेपछि पछि पनि उहाँ कुनै पद तथा लोभलालचमा नलागी सदैव नेपाली जनताको हितमा लागि रहने नेताको रुपमा उभिरहनुभयो ।

वि.सं. १९७२ सालमा क्षेत्रपाटीमा जन्मनु भएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

काठमाडौंको एक सम्पन्न परिवारमा जन्मनु भएका सिंह नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्का सदस्य बनेर राणा शासनलाई हटाउने अभियानमा सामेल हुनुभएको थियो ।

उहाँको ११० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनुभएको थियो । उहाँले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताउनुभएको थियो ।


राष्ट्रपति पौडेलले मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्न यहि व्यवस्थामै सम्भव छ भन्नुभयो ।

राजनीतिक मूल्य,मान्यता र आदर्शमा अविचलित रहेकोले लौह पुरुषको नामले पनि चिनिनुहुने सर्वमान्य नेता सिंहको जन्मजयन्तीको अवसरमा देशका विभिन्न जिल्लामा विविध कार्यक्रम गरिएका थिए ।

Scroll to Top