चितवन, १० साउन : नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांगे्रसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिनुभयो । नेपाली कांग्रेस विभाजन हुँदा उहाँ प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो ।
विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ चितवन बसाइँसराइ गरी आउनुभएको हो । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गर्नुभएको थियो ।
उहाँका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उहाँका कान्छा छोरा र श्रीमती रहनुभएको छ ।
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको बताउनुभएको छ ।
स्वर्गीय गुरुङले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
गुरुङको पार्थिव शरीरलाई भोलि बिहान ११ः१५ बजे उहाँको निवास भरतपुर महानगरपालिका वडा नं २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।




