बाग्लुड., १६ आषाढ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलले बागलुङ जिल्लाका पूर्व पार्टी सभापति एवं पूर्व प्रतिनिधिसभा सदस्य गोविन्दप्रसाद शर्मा कँडेलको पार्थिव शरीरमा पार्टीकोे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित कँडेलको ८७ बर्षको उमेरमा आईतबार चितवनमा निधन भएको थियो ।
नेपाली काग्रेस बागलुङको संयोजनमा वीपी स्मृति भवनस्थित नारायणचोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले स्व.कँडेलको निधनले सिंगो नेपाली काग्रेस पार्टी र बागलुङबासीमा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँको निधनबाट पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार, सरल, शालीन र प्रेरणादायी नेता गुमाएको बताउनुभयो ।
स्वर्गीय कँडेलप्रति नेपाली काग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, बागलुङ पार्टी सभापति जित शेरचन, पूर्व पार्टी सभापतिहरु मणिभद्र शर्मा कँडेल, हरिप्रसाद श्रेष्ठ, प्रकाश पौडेल, दीपेन्द्रबहादुर श्रेष्ठ लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।
कँडेलको पार्थीव शरीरलाई बिहान ११ देखि १२ बजेसम्म पार्टी कार्यालयस्थित नारायण चोकमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । बागलुङ बजारदेखि निरयघाटसम्म शवयात्रा गरी स्वर्गीय कँडेलको पार्थिव शरीरलाई आजै निरयघाटमा अन्त्येष्टि गरिएको छ ।
२०१० साल देखि पार्टीमा सक्रिय पटक पटक आन्दोलनका क्रममा ७ वर्ष जेल पर्नु भएका कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ नेपाली काग्रेस जेष्ठ राजनीतिज्ञ सभाका पूर्व सदस्य समेत रहनुभएको थियो। उहाँ विगत केही समयदेखि बिभिन्न स्वास्थ्य समस्यबाट पीडित रहनुभएको थियो । स्वास्थ्य परिक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौं जाने तयारी गर्दै गर्दा उहाँको निधन भएको थियो ।
कँडेलको शव आइतवार नै जन्मस्थल बिहु ल्याईएको थियो । स्वर्गीय कँडेल बागलुङवासीका लागि ‘गोविन्द बा’ को रुपमा लोकप्रिय हुनुहुन्थ्यो ।
वि.सं. १९९५ पुस १० गते काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँकोटमा जन्मिनुभएका कँडेलले २०१० सालमा जननायक वी.पी. कोइरालाबाट पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । वि.सं. २०१९ सालमा गुल्मी, अर्घाखाँची र पाल्पाको कमाण्डर भर्ई वनारसबाट तरूण पत्रिका लिएर आउँदा उहाँ पाल्पामा गिरफ्तार हुनु भएको थियो । निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा र लोकतन्त्रको पक्षमा भएका संघर्ष र आन्दोलनहरूका क्रममा वि.सं. २०१९ देखि २०४६ सालसम्म पटक–पटक गरी उहाँले ७ वर्ष जेल जीवन बिताउनु भएको थियो ।
नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कार्य गर्नु भएको थियो । सरल, सादगी, शालीन र प्रेरणादायी उहाँको जीवनशैली अनुकरणीय रहेको छ । स्वर्गीय कँडेलका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ — “नेपाली कांग्रेस बाग्लुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गोविन्दप्रसाद शर्मा कँडेलको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखित बनाएको छ । स्वर्गीय कँडेलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।”




