काठमाडौं, ३० जेठ । आज नेपाली जनसम्पर्क समितिको स्थापना दिवस हो । स्थापना दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्माले स्वदेश तथा विदेशमा रहनुभएका जनसम्पर्क समितिका सभापतिहरु,पदाधिकारीहरु र समस्त सदस्यहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपाली जनसम्पर्क समितिको स्थापना दिवसको अवसरमा विश्वभरि रहेर नेपाली कांग्रेसको सिद्धान्त र आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति पूर्ण प्रतिबद्ध रहनुभएका नेपाली जनसम्पर्क समितिका सभापतिहरुपदाधिकारीहरु, एवम् आबद्ध सम्पूर्ण सदस्य साथीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
नेपाली जनसम्पर्क समिति स्थापनाको गौरवपूर्ण इतिहास स्मरण गराउँदै विभाग प्रमुख पौडेलले भन्नुभएको छ,”नेपाली कांग्रेसका संस्थापक नेता,नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री, महामानव विश्वेश्वरप्रसाद कोइरालाले आफू प्रवासमा रहेको बेला १३ जुन १९७६ (२०३३ साल) मा भारतको मुम्बईमा नेपाली जनसम्पर्क समितिको स्थापना गर्नुभएको थियो । जनसम्पर्क समितिको संस्थापक अध्यक्ष के.एस. रावल(१९७६ १९८६) हुनुहुन्थ्यो भने महामन्त्रीद्धयमा आर.बी.सिंह र बिसन सिंह विष्ट हुनुहुन्थ्यो ।”
विभाग प्रमुख पौडेलले विदेशमा रहेका सबै जनसम्पर्क समितिहरुलाई अझ बढी गतिशील बनाउदै सबै सदस्यहरुसंग प्रत्यक्ष सम्पर्कमा रही उनीहरुको हितमा काम गर्ने र विदेशमा रहेका लोकतन्त्रप्रति आस्थावान सबै नेपालीहरुलाई संगठनको छातामुनि समेटेर संगठनलाई अझ व्यापक, फराकिलो, बलियो, अनुशासित बनाउने सफलता मिल्ने अपेक्षा पनि गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “महामानव वी.पी. कोइराला जस्ता दूरदृष्टा नेताको परिकल्पनाले गर्दा आज संसारभर छरिएर रहेका हामी कांग्रेसजनहरु एकै पार्टीमा बसेर उही, जोश, जाँगर र उत्साहका साथ नेपाल र नेपालीको समुन्नतिको लागि नेपाली कांग्रेसले सञ्चालन गर्ने कार्यक्रम र सरकार(तीनै तहको)मा छँदा ल्याउने नीति,कार्यक्रम र बजेटमार्फत जोडिन पाएका छौ ।”
विभाग प्रमुख पौडेलले स्थापना दिवसलाई सगर्व हर्षोल्लासपूर्वक मनाउँने परम्परा विकास गर्न अति नै सान्दर्भिक देखिएको उल्लेख गर्दै सबै जनसम्पर्क समितिहरुलाई आआफ्नो अनुकूलता अनुसार ‘जनसम्पर्कको योगदान, नेपाली कांग्रेसलाई वरदान’ भन्ने विषयवस्तुमा केन्द्रित रही राउण्ड टेबल, छलफल, गोष्ठी, भेटघाट, चियापान वा अन्य सामाजिक कार्य गरी स्थापना दिवस मनाउन अनुरोध पनि गर्नुभएको छ ।





